२०७८ श्रावण १६ गते शनिवार दिन एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा लेखक उत्तम निरौलाको दोस्रो कृति उपन्यास सखिला नेपाली समाजकी वरिष्ठ साहित्यकार पद्मावती सिंहको बाहुलीबाट विमोचन भयो । सखिला तथा दृष्टिकोण परिवारले आयोजना गरेको कार्यक्रममा पद्मावती सिंह लगायत अन्य वरिष्ठ साहित्यकार श्री ओम् श्रेष्ठ, शंकर भारती तथा विदुषी वृन्दा देवि निरौला लगायत अन्य मान्यगणहरूको उपस्थिति रहेको थियो !
उपन्यास सखिलालाई सम्पादन गरिदिनुहुने प्राध्यापक डा. प्रकाश तिवारीले उपन्यासबारे प्रकाश पार्नु भएको थियो । उपन्यासले सत्य कथामा आधारित रहेर नेपाली छोरीको प्रतिनिधित्व गरेको जानकारी दिनुभयो । उपन्यासले केवल प्रमुख पात्र सखिलाको आत्मवृतान्त मात्रै नभएर नेपाली समाजमा हरेक छोरीले भोग्नुपर्ने समस्यालाई निभनेर समाधानको बाटो निकालिदिएको जानकारी दिनुभयो । हरेक छोरीलाई प्रेरणा प्रदान गर्ने उपन्यास भएको पनि उल्लेख गर्नुभयो ।
बरिस्ठ साहित्यकार पद्मावती सिंहले पनि उपन्यासबारे खुसी हुँदै भन्नुभयो कि एउटी नारीको बारेमा यसरी स्रष्टाले कलम चलाउनु भनेको नेपाली नारीहरूकै निम्ति गौरवको विषय हो । अनेक उत्पीडनमा विभिन्न समस्या झेलिरहेका नेपाली नारीहरू प्रति सखिलाले पक्कै पनि न्याय गरेको छ होला भन्ने आशा गरेकी छु । वहाँले लेखकलाई शुभकामना दिंदै आफ्नो कलम निरन्तर रूपमा अघि बडाउन प्रेरणा दिनु भयो ।
गोरखापत्रका पूर्व प्रधान सम्पादक तथा वरिष्ठ साहित्यकार श्रीओम् श्रेष्ठले पनि कार्यक्रममा सहभागी हुनपाउनु त्यो अदृश्य शक्तिकै खेल हो जुन शक्ति मार्फत लेखकले कलम चलाउन उर्जा मिल्यो भनेर प्रस्ट्याउनु भएको थियो । `फेसबुकमा भेटेकी बहिनीको नाममा यसरी एउटा कृति नेपाली साहित्यलाई पस्किनु भनेको धेरै उत्कृष्ट काम भनेर लिन सकिन्छ । भाग्यमानी रहिछन् सखिला जसले शरीर छोडेर पनि फेरि जन्मने अवसर पाइन् ।´ भनेर खुसी व्यक्त गर्नु भयो ।
नेपाली उपन्यास समाजका अध्यक्ष शंकर भारतीले लेखकलाई हौसला दिंदै भन्नुभयो : यस्तो अकल्पनीय कथालाई तटस्थ रूप दिएर नेपाली साहित्यका लागि लगायत सखिलाको परिवारलाई निरौलाजीले धेरै ठूलो काम गर्नुभयो ।´
विदुषी वृन्दा देवी निरौलाले पनि आफ्नै नातीले राम्रो काम गरेकोमा शुभकामना तथा बधाई दिनु भयो ।
लेखकको पहिलो कृति प्रेरणादायी पुस्तक दृष्टिकोणकाको पनि तेस्रो संस्करण बजारमा आउन लागेको जानकारी दिँदै लेखकले भन्नुभयो कि `म बधाई थाप्न योग्य भएकै छैन ! मेरो जीवनका हरेक दिन परीक्षा हुने भएका कारण परीक्षा दिन हिँडेको छोरोलाई बधाई भन्दा पनि शुभकामना नै उचित हुन्छ । साहित्य क्षेत्रमा लागेको धेरै समय भएको छैन । २०७५ मा पहिलो कृति दृष्टिकोण जन्म्यो । २०७६ मा यसैको दोस्रो संस्करण आयो । २०७७ कोरोना माहामारीले सिद्यायो भने अहिले २०७८ मा सखिला लगायत दृष्टिकोणको तेस्रो संस्करण पनि आयो । पाठकले नै दिएको प्रेरणाका कारण कलम चलाउन सामर्थ्य राखेका कारण सबै पाठकलाई धन्यवाद दिन चाहन्छु ।´
उपस्थित सम्पुर्ण मान्यगण तथा अतिथिहरूले सखिलाको परिवारलाई छोरीले पुनर्जन्म पाएकी छिन् भनेर चोइटीएको हृदयमा मलहम लगाइदिनु भयो । कार्यक्रम भव्यताका साथ सम्पन्न भयो !!
लेखक उत्तम निरौलाको दोस्रो उपन्यास कृति सखिला हिमशिखर बुक्सले प्रकाशन गरेको हाे ।