कलमले लेख्न छोडेर कागजमा प्रिय कविता मैले लेखेको छु आफ्नै आँखाको लयमा तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई नजरका निर्दोष दृष्टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर समेटेको छु सम्पूर्णत: तिमीलाई हृदयको रङ्गीन क्यानभासमा गुलाफको किरणजलले छोएर हर पल प्रेमको कोमल बास्नामा सधैं सधैं लुटुपुटिइरहन्छु ! त्यो रहस्यको जीवन्त छटा एउटा आकृति, तर अनन्त आलोक एउटा अस्तित्व, तर असंख्य आकांक्षा प्रत्यक्ष प्रतिरूप, तर अमूर्त कला व्याख्या गरुँ शब्दले धान्दैन, विचार आरोपण गरुँ व्यापकता बन्छ, चुहिएर जिन्दगीझैं तपतप भावना तिम्रो ओठभरि तरलित बनेर बगिदिन्छ स्वप्निल समय रोटेपिङ खेलेर फन्का मारिरहन्छ हरेक यादमा आऊ न अब सब औपचारिकता फुकालेर सब सब दार्शनिकतालाई घिसारेर नाघौं यो आदर्शको मौनतालाई एक झटकामा । बगौँ यो बतासको गति समातेर सँगसँगै समयको सुदूर एकान्तमा !!! (वेलायत)