कलमले लेख्न छोडेर
कागजमा प्रिय कविता
मैले लेखेको छु आफ्नै आँखाको लयमा
तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई
नजरका निर्दोष दृष्टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर
समेटेको छु सम्पूर्णत: तिमीलाई
हृदयको रङ्गीन क्यानभासमा
गुलाफको किरणजलले छोएर हर पल
प्रेमको कोमल बास्नामा
सधैं सधैं लुटुपुटिइरहन्छु !
त्यो रहस्यको जीवन्त छटा
एउटा आकृति, तर अनन्त आलोक
एउटा अस्तित्व, तर असंख्य आकांक्षा
प्रत्यक्ष प्रतिरूप, तर अमूर्त कला
व्याख्या गरुँ शब्दले धान्दैन,
विचार आरोपण गरुँ व्यापकता बन्छ,
चुहिएर जिन्दगीझैं तपतप भावना
तिम्रो ओठभरि तरलित बनेर बगिदिन्छ
स्वप्निल समय रोटेपिङ खेलेर फन्का मारिरहन्छ हरेक यादमा
आऊ न अब सब औपचारिकता फुकालेर
सब सब दार्शनिकतालाई घिसारेर
नाघौं यो आदर्शको मौनतालाई एक झटकामा ।
बगौँ यो बतासको गति समातेर सँगसँगै
समयको सुदूर एकान्तमा !!!
(वेलायत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।