निश्छल प्रेम होस् मर्यादित यौन होस् विभेदको अन्त होस् मुक्तिको गीत गाऔं— कहिल्यै लेखेनौ ! पसिनाको मूल्य खोजौं मान्छे छुत-अछुत हुँदैन नारी-पुरूष बराबरी हुन् न्यायको आवाज उठाऔं— कहिल्यै लेखेनौ ! स्वाभिमानले शीर ठड्याऔं भोकको ब्याकरण हल होस् श्रमिकहरू धर्तीका मालिक हुन् आमाको पनि एक चपरी माटो होस्— कहिल्यै लेखेनौ ! तिमी भन्छौ - मैले लेखेरै जिन्दगी बिताएँ यो देशले मलाई चिन्नै सकेन ! प्रिय मनुवा ! तिमी लेखक नभएर यो सत्ताले हुर्काएको इमान्दार दास हौ ! तिमी बुझ्दैनौ सत्ताको जासूसी गणित तिमी देख्दैनौ सत्ताको पाइतलामुनिको विद्रोहको दर्नाल ! तिमी पढ्दैनौ सत्ताको निर्दयी भाषाको ब्याकरण र तिमीलाई थाहा हुन्न भित्रभित्रै फुटिरहेको ज्वालामुखीको संगीत ! जति देखाइयो उति नै देख्छन् - दासका नीरिह आँखाहरू ! जति बुझाइयो उति नै बुझ्छ - दासको मुर्छित मस्तिष्क दृष्टिविहीन औंलाका चालहरूमा कुसुलेझै छमछमी नाचिरहन्छन् - निर्जीव दासहरू र दासहरूको बकपत्रमा न सपना हुन्छ न त जीवनको कुनै आलोक हुन्छ ! आँसुको लय चोरेर तिमीले जीवन लेख्यौ या मृत्यु आफैँलाई बिक्री गरेर तिमीले स्वाभिमान लेख्यौ या दासत्व ? आफ्नै सपनाको हत्या गरेर यतिखेर, तिमी लेखिरहेछौ - आफ्नै जीवनको सुसाइड नोट ! नियालेर हेर त सत्ताको कपटि इतिहासभित्र तिमी छर्लङ देख्नेछौ - मेटिँदै गरेको आफ्नै अनुहार ! (झापा)