बारीको कान्लामा कम्मरमा पटुका बाँधेर चुहिन लागेको बादलमा कुहिरोसँगै हराएकी उसले मैलो धुजाधुजा परेको पटुकीमा पसिना नभिज्ने गरी बेरेर हेल्लो भनेर उठाउन मात्र मिल्ने मोवाइल राखेकी छे ।
एक सुरमा घाँस काटिरहेको बेला मोवाइलको घण्टी बज्यो । झसङ्ग हुन्छे। हेर्छे । “फुन पो आएछ ।” नम्बर नाम पनि आउँदैन । हतारमा उठाउँदै भन्छे, “हेल्लो , आमा ढोग गरेँ ”
” ए ठूले पो, आशीर्वाद ठूले ! ”
” सन्चै हुनुहुन्छ आमा , के गर्दै हुनुहुन्छ ? ”
“तल्लो बारीको कान्लामा भैंसी पगार्ने घाँस काट्दै छु नि ।”
“कति सम्झेकी छु, आज फुन गरिस् बाबु !”
“किन आमा ? के छ गाउँको खबर आमा ?”
“के हुनु बा !
कोरोना लागेर तल्लारे साँहिलो र माझारे माहिलो औषधि र के हो ग्यास नपार मरे । जताततै कोरोना छ । भोकमरी छ ।
अब चुनाव हुने अरे ! पाँच नपुग्दै ।
भोट हानेर विदेश गइस् ।अब फेरि चुनावमा आउलास् नि !
चुनावमा त प्लेनमा विदेशीलाई ल्याउछन् रे । गाडीले घरमै लेइदिन्छ रे आइजा ठूले ।”
पाँच वर्षपछि आउने भनेर आएको आमा, मिल्दैन आउन ।
बरू तपाईंले केमा र कसलाई दिनुहुन्छ नि भोट ? आमा !
” हँ ! खै , मेरो मन त ठूले सिसाझैँ चर्किएको छ । यो चर्किएको मनको जगबाट सिसाको गिलासमा खनाएर सिसाकै टेवलमा राखेर सिसाझैँ चर्किएको मनलाई भोट दिने त होला नि ।”
(गैडाकोट-२, नवलपुर )