आरनजस्तै जीवन बाँचेको
एउटा मान्छे
देश बनाउँन खलाँतीमा फुक्छ
आफूजस्तै तातो आगो
उसको मन पाकिरहन्छ सधैँ
आफैँले पिट्दै गरेको रातो फलामझैँ ।
बिस्टका लुगा सिउने सियोले
सिउन सक्दैन ऊ
च्यातिएर धुजा धुजा भएको आफ्नै मन
आफू नाङ्गै खुट्टा हिँड्न सक्ने उसले
बनाउँछ आफैँलाई कुल्चनेका लागि बुट ।
आफ्नो छातीभित्र सिङ्गो देश हुर्काउने उसले
बारीभरि रोपेर दुःखका बिउ
फलाउँछ सधैँ भोकको औषधि ।
तपाईं– अब पनि सोध्नुहुन्छ कि उसको जात ?
(गोर्खा, सिरानचोक)