देश बिरालोले भरिएको छ
जङ्गलमा वनमारा बढेझैं
नयाँ नयाँ बिरालाहरु
नयाँ साइनो लिएर हल्ला गरिहेका छन्
आवाजविहीन भएको छ देश
जताततै कहिले गुर्रगर्र
कहिले म्याउँम्याउँ गर्दै
बिरालाहरु नयाँ साइनो जोड्न
र पुरानो साइनो तोड्न
कहिले ओल्लो दरबार
र, कहिले पल्लो दरबार कुदिरहेका छन् ।
कोही एउटै जातका हामी भन्दै
आफ्नो गोत्र बताउँदै छन्
कोही एउटै परिवार हौं भन्दै
नयाँ घर बनाउने र भित्रिने गर्दै छन्
कोही जात अर्कै परेछ भन्दै
घर भत्काउँदै छन्
भत्काउने र बनाउने खेलमा
रङरङका बिरालाहरु जुटेका छन् ।
आ–आफ्ना बासहरु बनाउन
रङ, जात र गोत्रको दुहाइ दिएर
आफूलाई आदिबासी र सक्कली बताउँदै
म्याउँम्याउँ गर्दै छन् बिरालाहरु
लुकीलुकी ओल्लो घर र पल्लो घर गर्ने
ढुकीढुकी दुध र मासु चोर्ने
गाउँलेका थाल र कसौंडी रित्याउने
यी चोर बिराला हुन् ।
यी थरीथरीका बिरालाहरु
यिनको जात र लुछ्ने दाँत मिल्ने
यिनको जिब्रोको स्वाद मिल्ने
खाना मिठो दूधको तर नै हुने
आखिर बिराला बिराला उस्तै हुन्
सबै बिराला चोरी खाने हुन् ।
स्वाद एउटै यिनको
स्वभाव एउटै यिनको
घर सार्नु, घर सर्नु
घर बनाउनु, घर भत्काउनु
खेल हो खाली मिठो भाग खाने
को ढाडे हुने
कसले गाउँको कसौंडी रित्याउने
देशको आँगनमा खेल खेलिरहेका
यी रङ्गी विरङ्गी बिरालाहरु ।
आग्लो लगाऊँ
र, जोगाऊँ भान्साहरु
पासो थापौं र समातौं बिरालाहरु ।
(काठमाण्डौं)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।