मलाई लाग्थ्यो
हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक हौँ
तर हामी त
स्वतन्त्र देशको एउटा सानो बन्द कोठाभित्र कैद थिएछौँ पहिलैदेखि
झुन्डाएको छ कोठाको दैलोमा हुकुमको ताल्चा
र खरिद बिक्रीको नाम दिइएको छ हाम्रो जिन्दगीहरुलाई।
ठुले तुम्बा तिमीले त
अदुवाको भारी बोकेर बजारमा लगेर बेचिएको निहुँमा नै
कति खेर पत्तै नपाई बेची पठाएछौ अदुवासँगै आफ्नो रहरहरू ।
साइँला फपाङ्ग तिमीले त
अलैंचीको धोक्रोमा खादेर दोकानेको कोदाममा पुराएर
उतै छोडी राखेर आएछौ चाहनाको झोला।
अचेल खरिद बिक्रीमा चल्दैछ सपनाहरू।
आगनको बिचमा बसेर पेरुङ्गो बुन्दै गरेको
ठल्ले कुङ्बा
एक तप्का आसु खसालेर
सपनाको थुन्से बोकेर
खाडी गएको छोरा प्लेन चढ्यो कि चढेन
रमिता हेरिरहेछ आकाशतिर ।
बिहान मात्रै ट्रेनको टिकट बोकेर
परदेश हिँडेकी छोरीलाई किन कल लागेको छैन अहिलेसम्म
बारीको डिलमा घाँसको भारी बिसाएर
मनमा केके हो केके कुरा खोलाएर
साइँली तुम्मा सम्झिरहेछ छोरीको अनुहार ।
सपना बोकेर खाडी पसेको छोराहरु
सपना बेचेर आउँछन् कि
कि त किनेर आउछन् ?
भबिष्य देखेर परदेश हिडेकी छोरीहरु
भबिष्य भत्काएर आउँछन् कि
कि त सपारेर आउँछन् ?
हरेक रात यस्तै यस्तै प्रश्नहरुको पलङमा
निदाउछ गाउँ।
अब अहिले मेरो बूढी औंलालाई निसाना बनाएर
राखिदिएको छ मलाई पनि खरिद बिक्रीको बजारमा
बूढी औंलाको ल्याप्चेसँगै
कसरी बिक्री गर्नु सक्छु र म आफ्नै सपनाहरू?
(दार्जिलिङ)