उहिल्यै भगवानका पालामा नेपालमा कस्ता कस्ता नेताहरु थिए त्यो कुरा अहिले आएर गौण भएपनि यतिबेला उहिल्यैको झलक देखाउने गरी आफ ूलाई भगवानकै रूपमा एैतिहासिक र आदर्शवादी नेता ठान्नेहरुको लर्को लागेको देखिन्छ । जनताका अगाडि आफूलाई कति न बरदानै पाएर आएझैँ गरी नेतागिरी गर्ने दही च्यूरे स्वभावका बज्रस्वाँठहरु कञ्चनरुपका मतदाताहरुका सामु ङिच्च दाँत देखाउदै जम्लाहात पार्दै थोत्रो मैलो फाँटेको झोला काँधमा भिरेर आँगनमा फटौरा चुट्न थालिहाल्छन ।
नेपाल अर्थात् नेतालाई जनताले पाल्नु पर्ने देश हो भन्दा सोह्रै आना सत्य ठहरिन्छ । यो कुरामा नेताहरुको समेत दुईमत हुँदैन भन्ने कुरामा म सत्यतामा अडिग भएको छु । कस्तो उलटो जमाना आएको जनतालाई नेताले पाल्नु पर्नेमा जनताले नेतालाई धारेहात पारेर पाल्नु पर्ने अवस्था आएको छ । आफ ूलाई भगवानको रुपठान्ने धसिङ्ग्रेहरुलाई विनासितीमा किन जुम्ला हात पार्नु व्यहोरा हेर्दा त धारेहात लाउनु नै सबैभन्दा उतम ठानेर जनताले पनि दर्जा तोकेका होलान नि ।
चैत्र महिना र कार्तिकमा गाउँघरमा फेरी लाउदै हिँड्ने जस्ता स्वरुपका नेता भनाउँदा जातका खैरातीहरु चाहिँ निर्वाचनका समय बाहेक अरु समयमा हिँड्ेको देखिदैन । व्यहोरा हेर्दा सो प्रवृति देखिए पनि इमान र जमान चाहिँ घरको रक्षक जतिको पनि पाइदैन । बरु घरको रक्षकलाई निर्वाचनमा उमेद्वार बनाएका खण्डमा आजकलका नेताले भन्दा बढी मत पाएर हाम्रे उच्च सुरक्षा गर्न सक्ने कुरामा म विश्वस्त छु ।
जनताका नाममा राजनीति गरेर जनतालाई नै कुल्चिएर हिँडदै गरेका पत्रुहरुलाई जनताले जिउँदै खाल्डोमा हालेर पुर्ने दिन पनि सायद आउँछ होला । बुझ्नेलाई यो कुरा गहिरो छ नबुझ्नेलाई घर छेउमै पहिरो छ ।ु भनेझैँ हुन्छ बुझ्नेका लागि यो कुरा । हामी नेपालीका लागि पनि नेतागिरी गर्ने मान्छे निकै ठुलै ठाउँमा पुगेकोझैँ भान हुने गरेको छ । हामी भनेका नेतागिरी गर्नेहरुको निर्णायक हौँ भन्ने कुरा सधैं दिमागमा तातो पारेर राख्नु पर्दछ । निर्वाचनका समयमा हामी सधैँ नेताभन्दा पछि पर्नुृको कारण पनि हामी चिसो भएर हो । अरुको लहैलहै र हो हो रेमा लागेका कारण नेताले हामी मतदाताहरुलाई चिसो छिडीमा सुताएर आफूहरु सधैं तातोमा बस्ने प्रवृतिलाई निरन्तरता दिइरहेका छन् । हामीहरु भने यो रमिता हेरेर रमाइरहेका छौँ । को असल को कमसल भन्ने गुण दोष छुट्याउन सकिरहेका छैनौँ ।
नेपालमा राजनीति गर्न भित्रिएका केही दागधारीहरुको कुरा गराँै वा स्वच्छ नेपालीकै कुरा गरौँ राजनीति देशको र जनताको मुहार फेर्न होइन व्यक्तिगत स्वार्थका लागि मात्र अपनाएको कुरा अहिले घाम जतिकै छर्लङ् भएको छ । विश्व राजनीतिका तुलनामा लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीति ताते गरिरहेको अवस्थामा छ । त्यसैले नेपालमा नेतागिरी निरक्षर हलि, गोठाला, घासे दाउरे सबैले गर्न थालेका छन् । ढोके हुक्के चिलिमेहरु त राजनीतिमा निकै अघि हिँड्न थालेका छन् । लामो धोती कुर्ता लाएर, काँधमा गम्छा भिरेर नेपालमा नेतागिरी गर्नेहरु भनेका आफ्नो राजनीतिक पृष्ठभूमी र नैतिकता आफै बिर्सनेहरु हुन भन्दा सबैलाई चित बुझ्छ । फेरी यिनीहरु कस्ताछन् भने दुई पैसेदेखि सय रुपियाँमा पाइने, पर्ने सम्मका छन् । भनौ एउटा बच्चाले समेत उसको कुरा पत्याउँदैनन र उसलाई उल्लीविल्ली पार्छन । नेपालमा केटाकेटीले समेत नेतालाई हेपाहा दृष्टिले हेर्न र जिस्क्याउन थालेभने अबको नेतागिरीको औचित्य मतदाताले बुझिसकेका छन् ।
अरुले नेतागिरी गरेको देखेर सिको गर्नेहरुले पहिले आफ्नो अनुहार ऐनामा नहेरी अरुलाई कालो भन्ने संस्कारलाई समेत वंशबृद्धिको दृष्टिले स्वीकार गरेका छन् । बुद्धि न सुद्धि पकाबुढी सेल भनेझैँ नेपालको नेतागिरी भगवान भरोसे चलेको छ भन्दा कुनै फरक पर्दैन । अस्तिको राजनीति सिपाहीले हातमा लौरो लिएर चलाएको थियो । हिजोको राजनीति पनि झण्डै त्यही रुपको थियो तर केही कुरामा भने फरक रह्यो । आज देशमा भएको व्यवस्था गणतन्त्र होकी दलहरुको गलगाँड तन्त्र हो कसैले बुझ्नै सकेको छैन । जनताका प्रतिनिधिहरुले जनतालाई यो देशको शासन व्यवस्थाका बारेमा सही कुरा बताउन सकेको सुनिएको छैन र पाइदैन पनि । नेतागिरी गर्नेहरु आफूलाई सधैँ सगरमाथा भन्दा अग्लो भएको महशुस गर्छन । चाहे ती गाउँतहका हुन, जिल्लातहका हुन वा केन्द्रिय तहका हुन । जनताले नेतागिरी गर्न अधिकार दिएर पठाए पनि जनताको भावना अनुकुल काम गर्न नसक्दा कतिपय नेतागिरी गर्नेहरु आफै संकटमा परेको कुरा पनि घाम जतिकै छर्लङ्ग भएको छ । संक्षेपमा भन्नु पर्दा नेपालमा नेतागिरी मौलाउनका लागि माटो सुहाउँदो वाताबरण अझै तयार भएको छैन । अर्को कुरा कतिपय नेतागिरी गर्नेहरु यो माटोमा नजन्मिएका कारण पनि माटो सुहाउँदो नभएको होकी जस्तो पनि लाग्छ ।
नेपालमा नेतागिरी गर्नेहरु एक नम्बरी पाराले होइन दुई नम्बरी पाराले कामगर्ने गरेका कारण पनि उनिहरुको भाउ पहिलेको तुलनामा निकै खस्केको छ । भनौ योक्रमले सधैँ निरन्तरता पाइरहने छभन्दा कुनै फरक पर्दैन । गाउँका जनताले समेत अब नेताको नाम लिनेबितिकै ओठ लेप्रयाउन थालिसके भने नेतागिरी सहज रुपमा गर्ने अवस्थामा समेत प्रश्न चिन्ह लाग्न थालेको अवस्था छ । बिहारी नेतागिरीबाट प्रभावित नेपालको नेतागिरी २०४६ साल अघि फरक ढङ्गको थियो भने सो समयपछि फरक ढङ्गले चल्दै आएको छ । हुबहु बिहारको नक्कलकका रुपमा देखिएको नेपालको नेतागिरीको चुरीफुरी हेर्ने हो भने कहीँ नभएको जात्रा हाँडिगाउँमा भनेझैँको छ । जात्रा भनेको कुनै उत्सव मनाउनु हो । भनौँ कुनै जात्रामा देखाइने कुनै बुख्याँचाजस्ता छन् नेपालमा यतिबेला नेतागिरी गर्नेहरु । जसलाई बुख्याँचा भनेको केहो जानकारीसम्म पनि छैन त्यस्ताहरु अहिले आफै बुख्याँचा भएर गाउँ गाउँमा दौडिरहेका छन् ।
कसैले तपाईं भनोस् कि नभनोस् आफै मपाइँत्व देखाएर अरुका अगाडि शो प्रदर्शन गर्ने र बकमफुसे गफ गरेर जनता आकर्षित गर्ने मेलो बाहेक केही भा छैन आजको नेतागिरीमा । मेवाका लागि सेवा आजको दुनियाँमा सबैले गर्छन तर सेवा अनिवार्य र ग्यारण्टी हुन्छ । नेपालको नेतागिरीको सेवा भनेको पहिले मेवा अनि बाध्यता छैन सेवाको काम । मेवा पाएपछि टिएपी टाप । कति वर्ष हराउने हो, कुन दुलोमा लुकेर बस्छ नेतागिरी गर्ने मान्छे कसैले पतो पाउँदैनन । भनौ नेपाली नेतागिरी गर्नेहरुले आफ्नो पुस्तामात्र होइन भावी पुस्तालाई समेत पाल्ने गरी र आफूले नेतागिरी गर्दा लागेको खर्चको साँवा व्याजको दसबर हुने गरी असुलेर बसेका छन् । जनताका नाममा जनतालेनै तिरेको करबाट पारिश्रमिक खाएर जनतालाई नै ऋणमा पारेर आफूहरु पानीमाथिको ओभानो हुने संस्कारलाई पुरानै विर्ता ठानेर नेतागिरी गर्नेहरुले देशको दोहन गरेका छन् ।
निर्वाचनमा अरु समयमा भन्दा बढी नै नेतागिरी गर्नेहरुको तामझाम र ढाडस देख्ने गरिन्छ । तर अब ती ढाडस देखाएर र जनताको आँखामा छारो हाल्ने काम गरेर भोटको पोको पारेर हिँडेपछि गाउँ नफर्कने दिन फेरी आउँला भनेर औलो नभाँचे पनि हुन्छ । अब नेतागिरीकै भरमा कटेरोलाई दरबारमा रुपान्तरण गरौँला भनेर सोच्दै अघि बढेका खण्डमा भविष्यका लागि नेतागिरी पुनः आमाकै गर्भमा फर्काइदिए सबैभन्दा उपयुक्त हुन्छ । चुनावमा नेतागिरी, दादागिरी होइन इमान, जमान र निष्ठागिरी बन्न सक्नु पर्दछ ।
आमाले सिकाएको भन्दा बढता जान्ने भएका कारण हिजोका नेतागिरी गर्नेहरु आफैले खनेको खाल्डोमा आफैँ परेको उदाहरणहरु पनि हाम्रा सामु घाम जतिकै छर्लङ्ग भएको छ । नेतागिरी जन्म दिने आमालाई र आफ्ना दाजुभाइ, दिदीबहिनी, छरछिमेकी, इष्टमित्र, नाताकुटुम्ब रुवाएर आफू हाँस्नका लागि हो भने यसले नेपालमा बाचुञ्जेल निरन्तरता पाइरहोस् ।
(उदयपुर)