थुन्सेभरि सपनाको भारी बोकेर
साकेला थानमा पाती चढाउँदै
देउराली काटिजाने ओ सिरानघरे साइली
हामीलाई माफ गर
यो गाउँले तिमीलाई
एक चिम्टी सिन्दुर पनि दिन सकेन ।
म सम्झन्छु
नाकमा ढिके फुली टल्काएर
गलामा मट्टीमाला झल्काएर
कानमा बजारे यार्लिङ झुण्डाएर
चौबन्दीको तुना आधा खोलेर
जब बस्थ्यौ समुस्कान सुकुवाको डिलमा
गाउँ नै उज्यालो लाग्थ्यो
औंसीको रातमा पनि
तिम्रो बैँसको राप थेग्न नसकेर
तिम्रो नामको कसम खादै
थुप्रै लाहुरेहरुले गाउँ छाडे
तर तिमीले छाडेनौ यो प्यारो गाउँलाई ।
साइली बिना खेतालापात
साइली बिना मेलापात
साइली बिना गोधुली साँझ
साइली बिना साकेला नाँच
अपुरो हुन्थ्यो सधै
जसरी जून बिना आकाश अपुरो हुन्छ सधै ।
आज दुईबिसको उमेर घर्किसक्दा पनि
नाक्छोङ लिएर आएन कोही साइलीको दलानमा
शीरमा फेटा र काँधमा धनुष वाण बोकेर
कोही सिकारी आएन साइलीको आँगनमा
साइलीले सोचिन
बैंशको समय गयो, पैसाको समय आयो ।
दोकाँधे झोला भित्र
देश छोड्ने पासपोर्ट र कामदारको भिसा च्यापेर
समुन्द्र पार सुदुर यात्रामा निस्कदै
गाउँलाई माया मारिजाने ओ सिरानघरे साइली
हामीलाई माफ गर
यो गाउँले तिमीलाई
एउटा न्यायो कोख पनि दिन सकेन
ओ निनामा, ओ सुम्निमा
ओ पारुहाङ, ओ साकेला थान
हजारौं साइलीहरुको रक्षा गर ।
(संखुवासभा)