भूपिले भनेको
यो चार भञ्ज्याङ खाल्डोको
चिसो एस्ट्रेमा आइपुगेको छु म– हजुरको चप्पल ।
नयाँ जुता लाएर हजुर सहर पस्दा
गाउँको कुनै झुपडी आँगन कुनामा
छाड्नु भएथ्यो मलाई,
हो, त्यही चप्पल हुँ म
आज हजुरको खोजीमा सहर पसेको छु ।
बैँशका सारा जोशभरि
हजुरको नरम पाइतलाको सुरक्षामा खर्चेको छु मैले
भएजतिका सारा खुशी पनि
हजुरको खुशीको लागि निशंकोच अर्पेको छु मैले
तीखा काँडामाथि मेरो छाती थापेर
हजुरलाई शिखर उकालेको त्यो समय !
चट्टानका करौँटीमा म आफैलाई रगडेर
हजुरलाई गन्तब्य पु¥याएको त्यो समय !
साँच्ची, मेरा तन मन खियाएर
हजुरलाई भरिपूर्ण बनाएको त्यो समय !
एकादेशको कुनै कहानीमा पनि किन भेटिन्न अचेल ?
रंगीन दुनियाँको कुनै विहानीमा पनि किन भेटिन्न अचेल ?
यही प्रश्नको उतर खोज्न
आज हजुरको सहर पसेको छु म ।
सिंहदरवारको ठीक सामुन्ने उभिएर
एकोहोरो हेरिरहन मन छ–
हजुरको उचाईमा मेरो शिर देखिन्छ कि देखिन्न ?
हजुरको हाँसोमा मेरो हाँसो देखिन्छ कि देखिन्न ?
अथवा, हजुरको विपनामा
मेरो सपनाको कुनै हिस्सा बाँचेको छ कि छैन ?
यी गगनचुम्बी महलका जंगलबीच
झुपडीका अस्तित्व र गरीबका भोक
कसरी अपमानित भइरहेको छ ?
यी सारा प्रश्नको उतर खोज्न
आज हजुरको सहर पसेको छु म ।
भूपिले भनेको
यो चार भञ्ज्याङ खाल्डोको
चिसो एष्टे«मा आइपुगेको छु म– हजुरको चप्पल ।
(दाङ)