मैले दुर्ईचार जना
फटाहाहरूलाई चोर्न सिकाएँ
चोरहरूलाई देश लुट्न सिकाएँ
भ्रस्टहरूलाई आयोगमा पुर्याएँ
गुण्डाहरूलाई सेना बनाएँ
नेताहरूलाई व्यापारी बनाएँ
र
व्यापारीहरूलाई नेता बनाएँ भन्दैमा
मलाई गुरु भन्ने?
ओ महाशय !
मुख सम्हालेर बोल
के भनेको रे?
फेरी भन त ?
जिब्रो थुतिदिऊँ ?
मलाई गुरु भन्ने?
कसरी गुरु भएँ हँ ?
के मलै आफू ढलेर पनि विद्यार्थीलाई उचालेको छु ?
कि मलै निभेर पनि विद्यार्थीलाई उज्यालो दिएको छु ?
के मलै आफू दुःखी हुँदा पनि विद्यार्थीलाई खुसी बनाएको छु?
कि मलै आफू रोएर पनि विद्यार्थीलाई हँसाएको छु?
त्यत्तिकै मलाई गुरु भन्ने?
मजस्तो तुच्छ मान्छेलाई
त्यति ठूलो नाम दिएर
लज्जित नबनाऊ
बिन्ती छ महाशय,
मलाई गुरु भनेर नबोलाऊ ।
म आधा तलब खाएर दोब्बर काम गर्ने मान्छे होइन,
म त दोब्बर तलब खाएर आधा पनि काम नगर्ने मान्छे हुँ
म भोकभोकै काम गर्ने मान्छे होइन,
म त टन्न खाएर पनि खान पाइनँ भनेर
राहत हसुर्ने मान्छे हुँ ।
म सुत्केरी हुँदाहुँदै पढाउने मान्छे होइन
म त सुत्केरी नभए पनि सुत्केरी भत्ता पड्काउने मान्छे हुँ
म पढाउँदा पढाउँदै घाँटीको क्यान्सर भएको मान्छे होइन
म त खाँदाखाँदै अजीर्ण भएर पेटको क्यान्सर भएको मान्छे हुँ
म बिनाकारण विद्यार्थी र अभिभावकले पिट्दा पनि
नबोली जागिर छोडिदिने मान्छे होइन,
म त दोषी भएरै पनि पुलिसलाई ठग्ने मान्छे हुँ।
त्यसैले महाशय,
लाई गुरु नभन
मलाई ससांरको सबथोक पच्छ
तर गुरु पच्दैन ।
(स्यूचाटार, काठमाडौ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।