जब म कुचो लिएर आँगन बडार्न निस्केँ आज तिमी धेरै याद आयौ बाबु ! आँगनभरि छिरलिएका बाल्यकालका तिम्रा यादको चपेरै चपेरा बटुलेर काखमा राखेँ छामेँ, सुम्सुम्याएँ र आँखा नथाक्दासम्म हेरिरहेँ । छन त तिमी आँखाकै नानीमा छौ मेरो हर चेतनामा छौ तथापि, जतिजति तिमी याद आउँछौ तिम्रै सम्झनाका टुक्रा बटुल्दै घरआँगन, कोठा, चोटाचोटामा डुल्छु म । के कमजोरी भयो कुन्नि मेरो मायामा ? असम्भव कुरामा त आँट गरिनँ मैले खुल्ला आँगन र करेसाका फलफूल त दिएकै हो कर्तव्य बोल्दा, मायाका भाषाहरु बदलिएका हुँदा हुन् अरु के- के कमी भयो खोइ, मेरो मायामा ? आमाका स्नेहले अघायौ कि ? आमाप्रतिका कर्तव्यले डरायौ मेरो, लाल ! आमाको सम्झना तिम्रो स्मृतिको कन्तुरमा छैन र मेरो, राजा ! मलाई सम्झेर खेर जाने तिम्रो समयमा, अमिट खुसीका सिँढी थपिऊन् ! मेरो यो ढुकढुकी थामिराख्न त ताते गर्दा मेरो औँलामा तिमीले समाएको स्पर्सको त्यही अमूल्य याद भए पुग्छ बाबु ! जतिबेला मेरा नजरबाट तिम्रा स्मृतिहरु धमिला हुन्छन् जब जब चेतनामा तिमी हराउन थाल्छौ हो त्यही बेला एकपटक घर आउनू राजा ! मेरो बाबु ! मेरो लाल ! मेरो जीवनको प्रिय कृति तिमी भोगाइका असमजदारीका त्रुटिहरु सुधारी एक एक अध्याय गरीगरी पढिरहन्छु म जीवनभर पढ्दा पनि नअघाएको कथा तिमी ! यतिखेर म कल्पना गर्दै तिम्रा तिलचामले जुँगा पढ्दै छु म अचेत नहुदासम्म तिम्रो उमेर पढिरहन्छु तिम्रो खुसी हेरिरहन्छु जब मलाई बेहोसीले जित्न थाल्नेछ । चिकित्सक अध्ययनको लागि मैले मेरो शव दान गरिसकेकी छु सम्बन्धित निकायमा सूचना पुर्याउन मात्र एक पटक घर आउनू मेरो लाल ! मेरो लागि त्यति समय खर्चिनू बाबु ! मेरो जीवनको प्रिय कृति तिमी ! तिम्रा करकमलबाट आमा दान गर्नू ! तिम्रा सामु मैले जाहेर गरेको पहिलो अनि अन्तिम इच्छा यत्ति हो बाबु ! मेरो इच्छा यत्ति हो बस्, यत्ति गर्नू मेरो लाल ! (गैंडाकोट, नवलपुर)