दुःखी छु बाबु
के सुनाऊँ र खै !
टालेर पनि फाटेको आफ्नै जीवनको कथा ।
गाउभरिका मान्छेहरुको
माजीहडाम म सबैले मान्ने,
जान्ने, बुझ्ने ।
झगडा मिलाउनु, सबैको नाइके बनिनु
मेरो धर्म,
सम्झदा पनि औडाहा हुन्छ
मेरो पुस्तैनी हक माजीहडाम
खोसीएको छ आज
दारा र नङ्ग्रा झारिएको सिंहझै
म कानु सतार
पुर्खाहरुको नासो गुमाएर
नायकत्व खोसीएको जीवन जिउँदै छु ।
असक्षम ठहरायो सबैका सामु
आफ्नै पारानीले मलाई
र छिन्यो मेरो माजीहडाम ।
बाबुको किरियाको बेला मञ्जिथानमा
जाड पनि मैले चढाएकै हो,
देवी काली फकाउन,
मराङ्बुरु रिझाउन,
गाउमा दुःख नपरोस् भनी
परेवा, सिन्दुर, केरा चिनी पनि
चढाएकै हो ।
पत्ता पूजा, एउरो पूजा,
हडियार पूजामा पनि
नाच नचाएकै हुँ
सबै गाउलेलाई
झारखण्ड थानमा लगेर
अलुवा चामल, चिनी, केरा
पनि दिएकै हो देउता लाई
सोराईमा जाड बनाई सबैलाई खुवाएकै थिएँ ।
कसम बाबु
चुड्कीको बाउलाई
चुङ्नाको दुई घ्याम्पा जाँड र
मासु पनि बुझाएकै हो
बिहेमा दुबैका घरमा
पेञ्चुबूढा र पेञ्चुबूढीको पुत्ला
पनि झुण्डाएकै हो
छोरो जन्मिदाको खुसीमा
सबैलाई भोज खुवाएकै थिएँ
दिवी मनाएर दशाए नाच नचाएँ ।
तर खै !
मानभाउ पुगेन कि ?
किन रिसाए ?
म माजीहडाम खोसीएको कानु सतार
मराङ्बुरु देउता आउने बाटो हेरिरहेछु
भेट्ने बित्तिकै उनलाई
खुट्टा समातेर ढोग्नेछु र सोध्नेछु
“मैले कहाँ बिराएँ ?
(मोरङ)