सरकारी अड्डाका इन्जिनियर डण्डप्रसादलाई जिल्लाभरिका सबैले चिन्थे । उनले जिल्लाभित्रका सबै निर्माणाधीन संरचना भवन, पुल, आदिको अनुगमन र नक्सा पास गर्ने कार्यको जिम्मेवारी पाएका थिए ।
जिल्लाको तथ्यांकले पनि डण्डप्रसाद इन्जिनियर आइसकेपछि एक वर्षभित्र सबैभन्दा बढी भवन, पुल निर्माण सम्पन्न भएको देखायो । त्यसैले उनी जिल्लामै उत्कृष्ट इन्जिनियर कहलिएका थिए ।
कोरोना महामारी र मनसुन एकै पटक सुरु भयो । अन्य कर्मचारीहरु कार्यालयमा अनुपस्थित भए पनि इन्जिनियर डण्डप्रसाद भने सधैं कार्यालयमा उपस्थित भई फाँटको काममा सधैं व्यस्त भइरहन्थे । कोरोना महामारीले गर्दा फाँटभित्र पस्न अरूलाई निषेध गरिएको थियो ।
एकदिन धेरै मानिसको हुल कार्यालयमा प्रवेश गर्यो ।
“खोइ इन्जिनियर । उहाँलाई बाहिर बोलाउनुहोस् । एक वर्ष नपुग्दै नवनिर्मित मेरो घर चुहियो… मेरो घर चर्कियो… मेरो घर भासियो… गाउँको पक्की पुल पनि भाँचियो ।… के अनुगमन गरेका हुन् तिनले ? ठेकेदारसँग मिलोमतो गरेर भ्रष्टाचार गर्ने ? ” हुलबाट यस्तै आवाज आइरहेको थियो ।
“भित्र इन्जिनियर साप काममा व्यस्त हुनुहुन्छ । कृपया शान्त भएर बसिदिनुहोस् ।” फाँट बाहिर बसेका कार्यालय सहयोगीले मानिसहरुलाई सम्झाउन खोज्दै थिए । तर आक्रोशित मानिसहरु इन्जिनियरको फाँटको ढोका तोडेर भित्र प्रवेश गरे ।
फाँटभित्रको अवस्था देखेर सबै तिनछक परे । फाँटमा इन्जिनियर डण्डप्रसाद हस्याङफस्याङ गर्दै फाइल, ढड्डा सुरक्षित जोगाउने काममा व्यस्त थिए । तिनैले सर्भे, डिजाइन र अनुगमन गरेको नवनिर्मित कार्यालयको भवन चुहिएर जलमग्न थियो ।
(महेन्द्रनगर)