एकाबिहानै घर बाहिरबाट आएको हल्लखल्लाले भारतीको निद्रा खुल्यो । हत्तपत्त के रहेछ भनेर बरण्डाबाट बाहिर हेर्दा थाहा पाइन्। “सीता” हिजो साँझ मात्र भारतीसँग घरमा खानेकुरा छैन भनी पाँच हजार लिएर गएकी थिइन्। सिताले भारतीको घर र सोही टोलका केही घरमा सरसफाइको काम गर्दै आएकी थिइन्। देशव्यापि लकडाउ कारण केही दिनदेखि भने सीता काममा आएकी थिइनन्।
प्रहरी आइसकेको थियो। मान्छेहरु विभिन्न तर्कबितर्क गर्दै थिए प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव पठाउदै थियो । मन अमिलो पार्दै भारती बरण्डाबाट भित्र पसिन्।
भान्साको काम सकेपछि भारतीले टेलिभिजन खोलिन् । समाचारमा भनिरहेको थियो- “महामारीका बेलामा लुटपाटमा पुरुषभन्दा महिला सक्रिय । महामारीको मौका छोपी चोरी तथा लुटपाट गरी रातको अँध्यारोमा भाग्ने क्रममा सडक छेउमा खसेर एक बेवारिसे महिलाको मृत्यु । मृतकको कोरोना रिपोर्ट पनि पोजेटिभ छ । मृतक महिलाको साथबाट चोरी गरेको नगद रू पाँच हजार समेत फेला परेको छ । यो सँगै महामारीले मर्नेको संख्या …पुग्यो। समाचार सुन्दै गर्दा भारतीको हातबाट रिमोट भुइँमा खस्यो । भारतीलाई भने रिमोट खसेको पनि पत्तै भएन।
(तनहुँ)