गोयबल्सहरू
उनीहरूलाई
राजनीतिक विचारको कुनै मतलव हुँदैन
मूल्य, मान्यता र आदर्श अर्थहीन हुन्छन्
उनीहरूको
आस्था, निष्ठा, विचार, नैतिकता
जे भनेपनि
भ्रम छर्नु हो
झुठ प्रचार गर्नु हो
बेइमानी गर्नु हो
आफु अनुकूल प्रोपोगाण्डा रच्नु
यौटा हातले फूल दिनु
अर्काे हातले चक्कु धस्नु !
गोयबल्सहरू
रङ्गीचङगी देखिन्छन्
अनेक भेषमा देखिन्छन्
जस्तोसुकै रुप र रङ्गमा पनि हुन्छन्
जो जहाँ जस्तो भएपनि
गोयबल्सहरू
झुट, छलकपटीको दहमा
यति चुर्लुम्मै डुबेका छन् कि
उत्रिन सक्दैनन्
आउन सक्दैनन् किनारामा
उनीहरू
यति छट्पटीमा छन् कि
उनीहरू होसमा छैनन्
होसमा नभएसि के हुन्छ ?
अन्धाधुन्ध उफ्रिदै हिँड्छन्
बटुराउँदै हिँड्छन्
अर्थात् जे पनि गर्छन्
भरै हुन्न
ढुङ्गो फोर्न
आफ्नै टाउको ठोक्नेछन् ढुङ्गोमा
र सक्किनेछन्
गोयबल्सहरू
प्वाँख उम्रेका कमिला हुन्
जस्को उड्ने समय होइन
सकिने समय आउँदै छ ।
(रुपन्देही)