प्रिय छोरी !
तिमी विश्व मानचित्र पल्टाएर
आफू अनुकुलको देश खोजिरहिछ्यौ
म आफ्नै घरबाट हराएको मेरो नाम खोजिरहेकी छु ।
तिमी महासागरको कुरा गछ्र्यौ
आइफल टावर फन्को मार्छु भन्छ्यौ
म यति बेला मेरै चोकसित बिरानो छु ।
मलाई त वाग्मतीको सफा पानीमा
मेरो देशको प्रतिबिम्व हेर्न मन छ
लाग्छ
म जन्मेको आँगनभन्दा पर मेरो भुगोल छैन्
सगरमाथाभन्दा पर मेरो कुनै देश छैन ।
म कसैकी छोरी
कसैकी बुहारी
म तिम्रै नामबाट
तिम्रै आमा बनेर चिनिएँ
छिमेकभन्दा अलि पर मेरो परिचय छैन् ।
जन्म घरमा ठूली भन्थे बा–आमाले
कर्मघरमा कान्छी भएँ
पछि यो देशको नागरिक भएँ
ठुली–कान्छी भएर ।
मलाई पनि तिम्रैजस्तो नाम प्यारो लाग्थ्यो
तिमीजस्तै स्वतन्त्र भएर गगनमा उडुँउडुँ लाग्थ्यो
तर मैले त तिम्रै लागि भाँचेकी हुँ उड्ने पखेटा
तिम्रै लागि थुनेकी हुँ
संसार चिहाउने स–साना सञ्झ्यालहरू
एउटै रूखको हाँगामा झुन्डिएर मैले
गरेकी हुँ सबथोक तिम्रा लागि ।
प्रिय छोरी !
कोसी तर्दातर्दै काँसजस्तै सेतै फुलेका
बा– आमा बस्ने तीर्थभन्दा पर
मेरो कुनै मन्दिर छैन् ।
तिमी यतिबेला
झाँगिन चाहन्छ्यौ पीपलजस्तै
र फैलिन चाहन्छ्यौ पर– परसम्म
साँघुरो भैसक्यो यो भुगोल तिम्रो लागि ।
मलाई थाहा छ,
तिम्रो पदचाप पछाउँदै हिँड्ने छन्, घाम– जून
एक अँगालो घाम च्यापेर पस्ने छ उज्यालो
तिम्रै लागि आशीर्वादका मन्त्र पढ्ने छन् बाजे–बजूले
तिम्रो स्वर्णिम भविष्यको लागि ।
म भने
बल्दाबल्दै सकिने मैनबती न हुँ
अरूकै लागि बलेर सकिएँ ।
प्रिय छोरी !
तिम्रो र मेरो लागि कहिल्यै यो समय
समानान्तर दुरीमा हिँडेन
म हिँड्ने सानो गोरेटो
र
तिमी दौडने फराकिलो राजमार्गले
कहिल्यै हामीलाई छोएन ।
(पनौती, काभ्रे)