प्राचीन संग्रहालय अवलोकन गर्न
प्राचीन दरबारतिर लम्किरहेका
नवयुवाहरूको हुललाई देखेर
सरकारी कार्यालयको
एउटा भूतपूर्व पालेले भन्यो
हे नवयुवा हो !
तिमीहरू
प्राचीन संग्राहलय मात्र किन हेर्छौ ?
बरु
नवीन संग्रहालय हेर ।
त्यहाँ
महल बनाएर
मुलुक बनाएको बिल छ
सेतो बालुवा छरेर
कालोपत्रे सडक बनाएको बिल छ
श्रीमती सजाएर
कार्यालय सजाएको बिल छ
चरित्र उधारेर
समाज सुधारेको बिल छ
कमिशन खाएर
केही नखाएको बिल पनि छ ।
तिमीहरूलाई थाहा छ ?
देशका सम्पूर्ण सरकारी कार्यालयहरू
नवीन संग्रहालय हुन्
जहाँ
आँखामा छारो हाल्न बनाइएका
नक्कली बिलहरू संग्रह गरिएका छन् ।
देशको इतिहास चिन्नु छ भने
प्राचीन संग्रहालय हेर
देशको भविष्यको चिन्ता छ भने
नवीन संग्राहलय हेर ।
(चित्रे, स्याङ्जा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।