मेरो एउटा साथी छ
सयमा उनान्सय जाती छ
मात्र एउटै गुण नजाती छ
पाइलैपिच्छे खुट्टा तान्छ
काँधमा चढी पिँठ्युमा हान्छ ।
भेट हुँदा लरक्कै पार्छ
पछाडि परे कुरै काट्छ
आफ्नो भविष्य खोज्नभन्दा धेरै
षड्यन्त्रको चक्रव्यूह रच्दछ मेरै ।
आफ्नै बुद्धि र विवेकले
काम गरौँ घमण्डी भन्छ
अलिकति ठाउँ दियो
टाउको मै टेक्छ
ठिक्क दियो थोरै भन्छ
बढी दियो हाँडिघोप्टे भन्छ ।
वारिकालाई दियो पारिकालाई भएन भन्छ
पारिकालाई दियो वारिकालाई खोइ भन्छ
माथिकालाई दियो तल छैन भन्छ
तलकालाई दियो माथिलाई चाहिन्न भन्छ
विकास गरौँ कमिसन खाइस भन्छ
हात खैँचेर बसौँ सिन्कै भाँचिनस् भन्छ
नबोली बसौँ जवाफदेही भएन भन्छ
बोलौ भने बिरोधै गर्छ
कर्तव्य सोध्यो अधिकार खोज्छ ।
आजभोलि यस्तो लाग्छ
के-के खाएर
कुन पावरवाला चश्माले हेर्छ
हरेक कुरा उल्टै देख्छ
उल्टै बोल्छ
उल्टै सोच्छ.............................. ।
(पोखरा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।