पट्याउँदै रहरहरु मनभरि
सँगै आँशु बोकेको ओसिलो पछेउरी लिएर
साने !
तेरै बग्रेल्ती सम्झनाहरुमा
वृद्धा आश्रमको छिँडी, पिँडी र बलेसीहरुमा रुँदै
म जिउँदै रहेको भ्रमजस्तै
अर्धमूर्छित बाँचिरहेछु ।
हिजोको मेरो कर्तव्यभन्दा धेरै
आज जस्को परिणाम खोजे होला
मैले क्रिडाका शुक्रविजहरु
पत्थरमा छरेजस्तै
अर्थहीन सोचेर
तेरो जीवनको प्रारम्भ
क्रिडाका रोमान्सबाट सुरु गरे होला।
मैले खाली जाँतो घुमेजस्तै
रित्तो पेटको भरमा
रसाउनै नसक्ने तारे भिरजस्तै
छाती लिएर
नाथे, मेरो स्तनको भार बढी ठाने होला ।
अझ, तेरो तोते बोलीमा मैले
व्यञ्जन वर्ण भरेजस्तै
आजको तेरो विकसित मथिङ्गलसँग वरावर दाँज्न खोजे होला।
त्यसैले त
तेरो आधुनिक चेतनाको क्षितिजमा
तेरो विशालता र सम्पूर्णताको फैलावटमा
आज म नअटाएको हुन सक्छु ।
हेर साने !
पीडाको एक एक भौचर छ मसँग
मेरो हृदयमा
तर
कैफियत दिन अब
के नै बाँकी रह्यो र तँलाई
किनकि
मेरो हृदयले जस्लाई पूरै व्याख्या गर्न सक्दैन।
र आज
यी नै पीडाका रुञ्चे झरीहरुले
कहाँ ओवानो बनाउन सकेको छ र
मेरा नयनका वलेसिहरु ।
अत:
म आश्रमको निसासिँदो छिडीमा
हरेक प्रहर लामो लामो उच्छ्वास
ईश्वरप्रति चढाउँदै
किमार्थ एउटा मृत्यु मागिरहेछु
तर
घाम अस्ताएजस्तै सजिलो
कहाँ हुदोरहेछ र जीवनको अन्त्य ।
(झापा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।