राता-राता झण्डाहरु सिलाएको बिर्खे
फेरि उनै मुखियाको आगनमा
भोको पेट सिलाइरहेछ
आफ्नै नशाको धागो र हड्डीको सियो बनाएर ।
छोरीको कुमारीत्व
अपहरणमा परेको दिनबाट
आमाको रात निदाउनै मान्दैन
कमरेड ! छ भने पठाइदिनु
एकमुठ्ठो 'स्लिपिङ ट्याब्लेट' राधाको घरमा ।
आँसुको मलम लगाउँदा पनि श्रीमतीले
झनझन् चहर्याउने गर्छ
गोली अड्केको तिघ्रा
कमरेड ! सकिन्छ भने पठाइदिनु
एकपोका 'पेन किलर' खुसीरामको झुपडीमा ।
बेपत्ता छोरासँगै हराएको
माहिली भाउजुको हाँसो फर्काउनु छ
कमरेड ! कसैसँग पठाइदिनु
एकडब्बा 'लाफिङ ग्याँस' ।
सहिद प्रेमीको सम्झनामा
रुँदारुँदा सुकेपछि आँसु
भिजाउनु छ आँखा
कमरेड ! जसरी पनि पठाइदिनु
दुईथोपा 'ग्लिसिरिन' भुन्टीको नाममा ।
आकाशतिर बटारेका मुट्ठीहरु
सलाम ठोक्न काम लागेका छन् अचेल
मुक्तिको गीत गाएको धनवीरे
अरबी फलाँक्न थालेकोछ
बारुद पिस्ने हातले
उँटको गोबर सोहर्न थालेको कति भयो कति
सुकिलो तारा जडित रातो फेटा बाँध्ने निधार
पगरी गुथेर जोगाएको छ उसले
ताकि प्रचण्ड तापले अब
यो भन्दा बढी नपग्लियोस्, भाग्य !
अथक योद्धाहरुले सेन्ट्री गर्ने पोष्टमा
अहिले बाँदर नाँच्ने गरेका छन्
सुन्दर भविष्यको खाका कोरेका बंकरभित्र
स्यालका छाउराहरु लुकामारी खेल्छन्
खुईलिँदै गरेका पर्खालका नाराहरुमाथि
समयको लेउ टाँस्सिएको छ ।
कमरेड दरबार पसेको समाचार सुनेपछि
आगो झोस्यो उसले
जुनघरमा कमरेड सेल्टर बसेका थिए
बिस्टा छर्यो बंकरभरि
झण्डाबाट आँसी हतौडा झिक्दै भन्यो-
'अब म आफ्नै झुपडीलाई महल बनाउँछु ।'
कमरेड ! बिर्खेहरुको भाग्य सिउने
धागो छ तपाईसँग ?
भए अलिकति पठाइदिनु गाउँतिर
गोलीले ताछेका निधारहरु सिलाउनु छ
फेरिपनि गाउँ पस्ने औसर आए
रातामान्छेले हिँडेको त्यो पुरानो बाटोभरि
बनमारा उम्रेका छन्
अपरिचित जस्तो लाग्न सक्ला
कमरेड ! त्यतिबेला आउँदा
हातमा बन्दुक हैन उज्यालो लिएर आउनु ।
(बझाङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।