आकाश रोइरहेको छ
धर्ती चिच्चाइरहेको छ
रङ्गीन संसार
रङहीन भएको छ
सङ्लो पानी बोकेर
पोखिने कच्चन खोलाहरु,
छहराहरु
किटाणुका किट बोकेर
मिश्रित भैरहेछन जिवाणुसँग ।
स्वदेशी स्वादिष्ट भोज गर्न पाइने
स्वादिष्ट भोजनालयहरु
स्वादहीन भएका छन,
स्वच्छ गन्ध बोकेर हिँड्ने
हावा पनि
गन्धहीन भएको छ
घर घरका
ढोकाहरू बन्द छन्
एउटा अनौठो
त्रास छ मृत्युको ।
अलिकति चियाएर हेर्छु बाहिर
दिउसै सुतेको देख्छु सहर
सुन्छु
यो जगतै चिच्याएको आवाज
सुनामी उठेर
किनार भत्काउँथ्यो
भुइँचालोले घरहरु भत्काउथ्यो
हवा हुरी मडारिएर
सहर भत्काउँथ्यो
तर यति वेला नियतिले,
मान्छेको शरीर र मन भत्काएको छ
एक्लै एक्लै रोएका दृश्यहरुमा
भावनाको सगरमाथा पग्लिएर
जलाम्य छ ।
यस्तो लागिरहेछ
अब छिट्टै धर्ती मानव विहीन हुनेछ
मुसा र बादरहरुको धर्ती हुनेछ
स्याल र व्बासाहरूको देश हुनेछ
माछाहरू निडर पौडने छन्
चराहरू नि:सन्देह उड्ने छन्
पृथ्वी चलाउने पालो जनावरको हुनेछ ।
मानव सभ्यता र बिकासका
सबै प्रमाणहरू मेटिने छन्
धर्ती पुरै हरियो हुनेछ
समुन्द्र र आकाश सफा हुनेछ
मौसम बातानुकुलीत भएर
ग्लोबल वार्मिङ हुने छैन
यो धर्ती अति सुन्दर हुनेछ
जसरी थियो पहिले पनि,
अफसोच !
यति बेला सुन्दर पृथ्वी हेर्न
मानव आखाहरू हुने छैनन् ।
आऊ मान्छेहरु हो
यो भयानक समय
डरलाग्दा रातका प्रहरहरु र
बिषादी वोक्ने हावाविरुद्ध
अति प्रेमले, अति जतनले
मानवता मुटुभित्रै राखेर
संहार बोकेर मातिरहेको
कोरोनासँग अब अर्को युद्ध लडौँ ।।
(सल्यान)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।