कमरेड,
तपाई त सुरक्षित हुनुहुन्छ है ?
यो बिरामी गाउँ यत्ति चाहन्छ,
समय नै दुर्घटनामा परेको यो क्षणमा
कमरेड, तपाई चाहीँ सुरक्षित रहनुहोला !
भोको बच्चाले
अगेनामा पोलिदै गरेको रोटी हेरेझैं
डाँडाखर्के माइलाले हेरिरहेछ
हुरीले उडाइ लगेको–घरको छानो ।
असार भन्दा बढी
रोएका छन् आँखाहरु
पहिरोले एकै गासमा निलेको छ गाउँ
जल्दै गरेका लासहरु हेरेर
मलामी उभिएका छौ हामीहरु ।
अर्को बर्ष पेटभर खाउला भनी
बच्चाबच्ची सन्ताइरहेको
श्यामेको खेतलाइ
एकै घुट्कीमा खाएको छ बाढीले ।
अक्सिजन किन्न नसकेर
बुवाआमाको लास
अस्पताललाई जिम्मा लगाएर
टुहुरो बनेको रामे
फर्किएको छ घर
सोंचिरहेछ, स्कूल जानु कि पन्जाव ?
कमरेड,
हुरी आउँछ, तपाई आउनुहुन्न
पहिरो आउँछ, तपाई आउनु हुन्न
महामारी आउँछ, तपाई आउनुहुन्न
बाढी आउँछ, तपाई आउनुहुन्न ।
हाम्लाई त
हाम्रै आँखाहरु फुटाऊँझैं भइरहेछ
यिनै आँखाहरुले हेरिरहनु परिरहेछ एकसाथ
मुर्दाघर बनेको देश र हजुरको ओंठमा मुश्कान ।
हाम्लाई त
हाम्रै हातहरु चुँडाएर फ्याँकूँझैं भइरहेछ
यिनै हातहरुले ठोकेका हुन् – लालसलाम
यिनै हातहरुले दिएका हुन् – भोट ।
कमरेड,
के तपाई गाउँ आउने चुनावमा मात्रै हो ?
(प्युठान)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।