जूनजस्तै हुनु मैले कहिले भनेँ र ?
आज तिमी जून जस्तै बन्ने कुरा गर्छौ
मलाई अस्ताउने जून भन्दा
सारा धर्तीलाई उज्यालो बनाउँदै खस्ने तारा नै मन पर्छ
बेसारे शितलताभन्दा
एक झुल्को उज्यालो नै सही
छोरी तिमी बेसारे जून होइन चेतनाको तारा बन्नू ।
फेरि उही गुलाफको कुरा नगर छोरी मसँग
अक्सर फूलहरु मन पर्दैन मलाई
तिमीलाई थाहा छ नि छोरी
फूलसँगै
मन्दिरको कुरा आउँछ
देवताको कुरा आउँछ
मालाको कुरा आउँछ
थरीथरीका घाँटीको कुरा आउँछ ।
यी बेसारे फूलहरु
जहाँ जुनसुकै बेला
जसको शिरमा पनि बसिदिन्छन्
जसको घाँटीमा पनि सजिदिन्छन्
बरु फूल नै बन्नु छ भने धाइराको फूल बन
तिमीलाई थाहा छ नी छोरी !
कि थाहा छैन ?
धाइराको फुल देवतालाई चड्दैन
धन्न यी मान्छेहरुले
धाइराको फुल चोखो राखिदिए ।
साँच्चि छोरी !
कुनै बेला फूलहरुको इतिहास लेखियो भने
धाइराको फूलको बेग्लै इतिहास लेखिने छ
हो छोरी !
यतिबेला म धाइरिङ्गमा छु
हेरिरहेको छु धाइराको फूल
र
सम्झिरहेको छु तिमीलाई।
(पोखरा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।