सोची बस्छु
आँसु खस्नुको पनि कारण हुन्छ
खुसी हुनुको पनि कारण हुन्छ ।
तर कस्ले सम्झाई देला ती आमालाई
परदेशमा
छोरा बेपत्ता भएको कारण
आमा यत्ति बुझ्छिन् मैले पर्खिनुको कारण छोरा हो ।
कस्ले सम्झाइदेला ती चेलीलाई
उसको अस्मिता लुटिएको कारण
ऊ यत्ति ठम्याउन सक्छिन्
सायद म रित्तिनुको कारण छोरी भएर जन्मिनु हो ।
कसले बुझाइदेला पिताका ती हातहरुलाई
उसका हातहरु पसिना पुछ्ने हातहरु मात्र होइनन्
आशीर्वाद दिन सन्तानको सिरमा सजिने हातहरु पनि हुन् ।
कसले सुनाइदेला ती अबोध बालकलाई
बिभेदको कारण
जो साथीसँगै आँगनमा खेल्दा
दैलो कट्छ कि भनेर
बालापनको हातहरु छुटाई निरंकुशताको पञ्जाबाट धकेलिन्छ
उसको समानताको मस्तिष्कले बुझ्दैन जातीयताको कारण ।
हुन त बिनाकारण पनि धेरै कुरा भैरहेकै छ
जस्तो
हावा जो बिनाकारण बहिदिन्छ
र बाँचिदिन्छ प्राणीहरुको एउटा युग ।
नदी जो बिनाकारण बगिदिन्छ
र बनिदिन्छ साथी किसानहरुको एउटा सपना
पृथ्वी जो बिनाकारण घुमिरहन्छ
कहिले रात त कहिले दिन बनेर र थामिदिन्छ
भूत, बर्तमान र भविष्यका भारहरु ।
धड्कन जो बिनाकारण धड्किन्छ
जीवन बनेर, सास बनेर
र सुनाइरहन्छ हृदयको आवाज उमेरको अन्तिम क्षणसम्म ।
प्रेम जो बिनाकारण बसिदिन्छ
कहिले साथ त कहिले याद बनेर ।
यति बेला म सोचिरहेछु
बाँच्नकै लागि यत्ति धेरै कारणहरु छन्
मर्नका लागि किन एउटै कारण काफी हुन्छ ?
(सुनसरी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।