पढ्न जाँदा सधैँ असफलताका लड्डु हात पर्ने
जागिर खाऊँ आयोगमा सधैँ खप्परमा ठोक्नु पर्ने
सानो छँदा खैनी, चुरोट, गाँजा, रक्सी के के हुन् के के
झाम्टे र मुन्द्रे भई गुण्डागर्दीको नाइकेमा बिके
अहिले जीवनको मूलबाटो नखोजी भा‘कै छैन
सांसद नभई यो समयमा नहुने रै‘छ चैन ।
त्यसैले ए हजुर !
नेपालको सांसद नबनी भा‘कै छैन ।
अजिङ्गर दल खोल्नु पर्यो हजुर
आधुनिक नेता बन्नु पर्यो
जनतालाई फुस्ल्याएरै आफू सांसद बन्नु पर्यो
कुर्ची भाँचेर भएपनि
डर, धाक र रवाफ देखाएरै पनि
आखिर मन्त्री हात लगाउनै पर्यो
समाजमा आफ्नो हैकम चलाउन पनि
सांसद नबनी भा‘कै छैन ।
षड्यन्त्र, धोकेबाज, छलकपट र गुण्डागर्दी,
राजधानीमा महल र विदेशमा पैसा थुपार्ने नीति
चर्का र गुलिया भाषणले जनताको मन जित्नु पर्ला
सकेसम्म राष्ट्रको ढुकुटी दोहन गरी ब्रह्मलुट गर्नु पर्ला
जसरी नि सांसद हुनै पर्यो
केही नलागे भाग्नु पर्ला
जे गर्न पनि पछि नपरी
स्वार्थ सिद्धी नगरी भा‘कै छैन
नेपालको सांसद नबनी भा‘कै छैन ।
हातमा कुनै सिप छैन,
साधारण काम गर्ने जाँगरै छैन,
जीवनलाई राजसी बनाउन
सुखसयल र मोजमस्ती गर्न,
श्रीमतीलाई जी. एम., आफन्तलाई राजदूत बनाउन पनि
सांसद नबनी भा‘कै छैन ।
प्रिवारलाई मात्र नभई आफन्तलाई समेत,
मालामाल गराउनु पर्छ
देशलाई ऋण लागे नि लागोस्
विदेशी सहयोग भित्र्याउनु पर्छ
दुई नम्बरी किर्ते गरी मोजमस्तीमा रमाउनै पर्छ
आफूलाई मात्र नभई आफ्नालाई गराउनु छ चैन
राँगो र खसी काटेरै भएपनि
सांसद नबनी भा‘कै छैन ।
सक्दो चर्को भाषण दिएरै पनि
लोकतान्त्रिक गणतन्त्रको महिमागान गाएरै पनि
रातारात लड्डु बाँडेरै पनि
मोजमस्तीमा नरमाई भा‘कै छैन
नेपालको सांसद नबनी भा‘कै छैन ।
आफ्नो ढुकुटी भर्नका लागि
औंलो बङ्ग्याएरै भएपनि कुम्ल्याउँदा हुन्छ
स्वार्थ पूरा गर्नका लागि बरु
नेपाललाई भारततिर गाभ्दा हुन्छ
कुठाराघात, देशद्रोही, रक्तपिपासुको
म्ूालमन्त्र नजपी भा‘कै छैन
त्यसका लागि पनि ए हजुर !
नेपालको सांसद नबनी भा‘कै छैन ।
(रुपा, कास्की)