वर्णमा मोह समाहित लालसाका चक्षुहरुबाट नियालिने क्षणिक आनन्दको दृश्य रहेछ प्रेम पीडित उनी भन्छिन् जुन दृश्यमा, मलाई हातपात गरिएको छ। जसरी जडियाले भट्टीमा साहुनीलाई गर्छ । लौ मेरो प्रेमीले आज बलात्कार गरेछ, हिजो मात्र मलाई हृदयको आगनमा दाहिने पाइला राख्न लगाएको थियो । आजकाल फिल्म हेर्दै गर्दा जबर्जस्तिको `सिन´मा हामीलाई देख्छु आफ्नै प्रेमको त्यो स्वरुपदेखि घिन लागेर आउँछ । पीडित उनी भन्छिन् के हाम्रो भूमिका हाम्रो मिलन त्यही सिनमा मात्र कैद छ ? नाटकघर देख्दा तिम्रो हृदयलाई सम्झन्छु हिजो आज जहाँ पात्रहरुको मौजुदी पर्दा अगाडि मात्र हुन्छ । तिम्रो मौजुदी पर्दा पछाडि पीडित उनी भन्छिन् हैकम जमाउन खोज्छौ ममाथि प्रेम जताउन खोज्छौ गिथोल्न खोज्छौ लथालिङ्ग पारिदिन चहन्छौ छताछुल्ल पोखिदिन चहन्छौ जब तिमीलाई मप्रतिको प्रेमको सम्झना आउँछ । लाजले पर्दा म लगाइदिन्छु, प्रेमको इज्जत बचाउन । वास्तवमा बगर रहेछु म, खोला तिमी रहेछौ । बर्खायामको बाढी हाम्रो प्रेम रहेछ जहाँ म आफ्नो अस्तित्व गुमाउँछु तिमी आफ्नो वास्तविकतामा फर्किन्छौ ।