कुख्यात चोरले रुपधारण गरेको छ साधुको
साधु बदलिएर चोरमा साधुकै वस्त्र ओढेर घुरिरहेछ
बस्तीबस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले
र हाटबजारमा खुलेआम बिक्रि भैरहेछ
मान्छेका मुटु कलेजो र आँखा कान ।
सुनकली !
तिमिले देखेको सपनाको संसार होइन यो
चैनले सास फेर्न पनी गाह्रो
विषाक्त हावा चलिरहेको आख्त आख्त समय हो ।
फलाउन सपनाको सुन्दर संसार
रोप्न त पसिनाको खेती रोपेकी हौ
आफू सुकेर पनि रगत दिएकी हौ
रगतका थोपाथोपा बोकेर फुलेको गुराँस
शिरमा सजाउने कम्ती चाह थिएन तिमीलाई ।
सुनकली !
रातै भएर गुराँस मात्र कहाँ फुल्दो रहेछ र ?
कहिले फुल्दोरछ रातै भएर कालो रात
त्यही कालो रातको गर्भाशयबाट
जन्मदा रहेछन् मान्छेका नयाँनयाँ परिचयहरु
तिमीजस्तै मेरो मनको एकान्त कुनामा लुकिबसेका
वर्षौं अघिका सम्झनाहरु छन्,
सुनकली !
ज्वालामुखीको लाभाजस्तै उठ्दै बस्दै गरिरहेछन्
मेरो मनको अगेनोमा ।
°°°° °°°° °°°°
चराहरु बास बसिसकेपछि
मेलो सकेर घरिएका थिए मेरा बाआमा
बन्द भैसकेको थियो निन्न्याराको गित
क्षितिजमा आँध्यारो बोकेर ओर्लदै थियो खैरो साँझ ।
आफ्नै अगाडी मान्छे नदेखिने कालो रातमा
अनुहारैभरि कालै दाह्री लिएर एक अंकल
लुसुक्क पसेका थिए घरमा
र मागेथे देश जनताको नाममा एकछाक खाना ।
मेरो बालमस्तिष्कमा के चासो थियो र ? सुनकली,
ती दाह्रीवाल अंकल को हुन ?
उनी सामु चिन्ता पोख्दै किना साउती मारिरहेछ्न मेरै बाबाले ?
सिर्फ दुईटा कुराले चिमोटिरहेको थियो त्यो बेला
कालो रातमा पनि एकएक बाटो ठम्याउन सक्ने
के जादु छ हँ ? ती अंकलको एकजोर आँखामा
किन बताइरहेछन बाबाको कानैमा मुख जोडेर
थर बिनाको आफ्नो निख्लो उपनाम ?
दिनहरु बित्दै गए
बितेर जाने ती दिनहरु
कहिले हाम्रा आँखाआँखामा भयावह चित्र पोतेर जान्थे
कहिले हाम्रा नशानशामा बेजोडले रगत उमालेर जान्थे ।
दाह्रीवाल अंकल दिनहुँ जसो आइपुग्थे गाउँमा
उनको उपनाम जस्तै प्रिय बनेको थियो
उनले सुसेल्ने आजादीको धुन ।
यस्तो लाग्थ्यो,
ऊ त्यो पारि क्षितिजमा झुल्किने वैसालु जून
कुन दिन टपक्क टिपेर ल्याउने छ्न् ती अंकल
र राख्दिने छ्न् गाउँ शिरानको चौपारीमा
अनुहारभरि लिपेर जूनको उज्यालो
हामी खुशीले कति नाचौला हँ !!!
°°°° °°°° °°°°
सुनकली!
अचेल समय फेरिएको छ
यो फेरिएको समयमा
मेरा गाउँका सामुन्नेमा उभिएका
दु:खका दुर्गम पहाडहरु उस्तै छन
नसोचेको हुरीले उडाई लगेको छ दुर्मुरो बिहान
तिमीजस्तै उदासी बाँडिरहेछ्न जून बेल उदाउने डाँडा ।
यो आफ्नो लाग्दै नलाग्ने फेरिएको समयमा
चमकदार बनेको छ ती अंकलको अनुहार
देखिन छोडेका छन झुम्म उम्रेका दाह्री
लगाउदैनन् टालो टालेको अदोराना ज्याकेट
गोल्डस्टार जुत्ताको छाला छेडेर
बाहिरै निस्केका छैनन् बुढीऔलाका नङ ।
दिनहुँ ठाँटिन्छन छुदापनि मैलो लाग्लाझैँ लाग्ने कोटमा
कोटको बाक्लो खल्तीले निलेको छ अंकलको उपनाम
रगत कट्कटिएको घाँटीको टाइले भन्छ:
त्यो कालो रातले जन्माएको असली परिचय मेरै हो मान्ठौ ।
सुख्खा बगरजस्तै अंकलको आँत भिजाउन
हरसाँझ तोडिन्छ ह्विस्कीको सिल
र खनिन्छ काँचको गिलासमा सहिदको रगत
निक्कै आनन्दी मिल्छ अंकललाई
रगतको चुस्कीसँग
बमले चोइट्याएका मासुका टुक्राहरु चपाउन ।
सुनकली !
आफ्नो लाग्दै नलाग्ने फेरिएको यो समयमा
बस्तीबस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले
मुडा ठोसेर अगेनामा चिसारात काट्दै
यति नै बेला गाउँमा
बूढापाकाहरु बाकुनिन र पुध्रोका सिलोक हालिरहेछ्न ।
(सुर्खेत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।