प्रतीक्षाका पलहरु पनि
कति बिशाक्त?
पलभरले पनि घन्टौँ
पोलिरहने
तिखो तीरले झैँ
तड्पाइ तड्पाइ
नमिठोगरी घोचिरहने ।
हिजो पर्खाइ
रहर बनेर आउँथ्यो
आज जहर बनेर आउँछ
प्रत्येक पलहरु
सेकेन्ड, मिनेट अनि
घन्टाहरुमा गन्दा
लाग्छ, साँझ जस्तै छ प्रतीक्षा ।
अनि पर्खाइ
हिजो सदाबहार बनेर आउँथ्यो
आज पतझड बनेर आउँछ
हिजो दिपावली बनेर आउँथ्यो
आज वायु बनेर आउँछ ।
तर
प्रतीक्षाका ती मेरा चप्लेटी ढुङ्गाहरु
कहिल्यै थाकेनन्
अनवरत साथ दिइरहे
तिमी नआए पनि
आफैलाई दया लाग्नेगरी
मुटु चिरा चिरा भै
फुट्नेगरी पर्खिएँ ।
तर
तिम्रो अभावको पीडामा
हाम्रो प्रेमको झोली
तुसारोले भरेर गयो
हरेक दिनको सुरुवातसँगै
मेरा बिहानीलाई निराशाको
बादलले ढाकेर गयो
यादहरु पनि कति धारिला
कति चोटिला
दिनदिन आउँछन्
छाती चिरेर जान्छन् ।
एउटै चीजबाट आधा
टुक्राएर लग्यौ
कहाँ दुख्दैन थियो र मुटु
किन जल्दैन थियो र मन
तापनि
पूर्णताको प्रतीक्षामा
ती नै चप्लेटी ढुङ्गाहरुमा
आँखाहरु बिछाइरहेँ ।
आफैलाई बिर्सन खोज्दा पनि
दर्पण बनेर आउने ती
तिम्रा प्रतिबिम्बहरु
जीवनभरको पूँजी,
जीवनभरको अभीष्ट
तिमीसँगको सामीप्यता
र आलिङ्गनमा
बिहानीको शीतको थोपासँगै
नाच्दै खस्न चाहाने रहर
पलभर तिमीसँग
निर्वाध रुपमा सुस्ताउन
चाहने रहर
जीवनलाई अङ्गालो हालेर
मस्त निदाउन चाहाने रहर
केवल
तिम्रो प्रतीक्षामा पल पल
मर्दामर्दै दिवा सपना भै दिए
कति अभागी चप्लेटी ढुङ्गा
अनि तिम्रो निम्ति कुर्ने
मेरा प्रतीक्षाका पलहरु ........
(मान्द्रे, भोजपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।