तिमीहरू भएर त
यो सहर सहर भएको हो
लाखौँको रहर भएको हो
जब जब विपतको सङ्केतमा
बोक्छौ कुम्लो कुटुरो
र छाड्छौ तिमीहरूले सहर
रहँदैन सहर सहर जस्तो
कुद्दैनन् सहरका रहरहरू
प्रतियोगिताका धावकझैँ
जबसम्म प्रवेश गर्दैनौ
तिमीहरू यो सहरमा
रोकिन्छ बेटरी सकिएको
अलार्म जसरी
वा भनौँ जलकुम्भी झार हो
सहरका रहरहरू
फैलिँदैनन् तिमीहरूविना !
जब जब उमङ्गको अवसरमा
एक फाँको खुसी बोकेर
छाड्छौ तिमीहरूले यो सहर
रहँदैन सहर सहरजस्तो
आफ्ना गहिरा दु:ख
उकास्ने प्रयत्नमा
सहरका आवश्यकताहरू ठम्याउँदै
जिवन्त बनाउँछौ
चोक र गल्लीहरू
र त बनेको छ सहर
आफ्ना खुसीहरू बिसाएर
जब फर्किन्छौ तिमीहरू
फर्किन्छ सहर पनि पुन:
आफ्नै लयमा
वा भनौँ
आकाशेबेली हुन् सहरका रहरहरू
लहराउँदैनन् तिमीहरूविना !
तिमीहरू भएर त
यो सहर सहर भएको हो
लाखौँको रहर भएको हो
ऐयासीको धुनमा लोलिँदै
अबेरसम्म निदाइरहँदा
तिमीहरू नै त हौ
सिङ्गो सहर ब्यूँझाउने
वा भनौँ
वानेश्वरको खोरतर्फ फर्किएर
माइतिघरबाट लल्कार्ने
तिमीहरू नै त हौ
सहरको ढाडमा
कुदिरहेको बादशाहलाई
बीच सडकमा पछार्ने
वा भनौँ
बलीवेदीको अग्रभागमा उभिने
तिमीहरूविना
भेट्दैन सहरले रहरहरू
टेक्दैन सगरमाथाले आफ्नै खुट्टा ।
तिमीहरू छौ र त
यो सहर सहर बनेको छ
यो देश देश बनेको छ
वा भनौँ
स्वाभिमान शिरमा अडेको छ
यो सहरलाई सहर बनाइरहने
यो देशलाई देश बनाइरहने
तिमीहरूलाई,
सगौरव सलाम !
यो सहरको सलाम !
यो देशको सलाम !
र मेरो पनि सलाम !!
(बनस्थली, काठमाडौ)