“रामेशलाई कोरोना भएछ नि ! ” टोलभरि हल्ला भुसको आगोझैँ फैलियो ।
रामेशका बाबु बजारमा मेडिकल स्टोरमा काम गर्थे । कोरोनाको दोस्रो लहर तीब्र भएपछि उनले घर आउनै छोडेका थिए । आमा र एउटी बहिनीको साथमा रामेश घरभित्र सुरक्षित बसेको थियो । सुरक्षाका सबै उपाय अपनाएर आमा घर बाहिरको किनकान एक्लै गर्थिन ।
आज रासन लिन जाँदा सबैले दुरदुर गरे । उनी छक्क परिन् । पसलेले सामान दिन इन्कार त गरेन तर पैसा पछि दिनु भन्दै उनको हातको पैसा लिएन ।
आमाले छोरीलाई सबै घटना सुनाइन् । सानी बहिनी दङ्ग परी । झल्याँस्स दाजुले टेलिफोनमा कुरा गरेको सम्झी ।
“महिनौँ भैसक्यो एकचोटि भेटौ न ! ”
“हुदैन हो ! अस्तिदेखि लगातार तीन दिन ज्वरो आयो । रिपोर्ट जाँच गराउन भनेर दुई घण्टा लाइनमा सँगै भएको अगाडिको मान्छे रिपोर्ट नहेरी हिजो बित्यो भन्छन् । आफुलाई घरभित्रै डर लागिरहेको छ । तिमी भेट्ने कुरा गर्छौं ?”
“ए, हो है ! त्यसो भए त हुँदैन । आफ्नो ख्याल गर्नु !” कलेजमा सँगै पढ्दाका साथी बिनिता र रामेश टेलीफोनमा कुरा गर्दै थिए ।
बहिनीले अनुमान लगाई, “यो सबै हल्ला फैलाउने बिनिता नै हो ।” उसले दाइलाई हकारी, “दादा तँ कहिले गइस टेस्ट गराउन ? ”
“म कहाँ गएँ ? मैले त हरिशको कुरा पो गरेको ! बिनिताले पूरा कुरा सुन्दै नसुनी फोन काटी !” रामेशले भन्यो ।
“लौ बितायो, त्यो बिनिता त हिजो हरिशसँग अँगालो हालेर घुम्दै थिई !” आमाको होस उड्यो, “यसरी शंकास्पद व्यक्तिले लापरबाही गर्दा नै यो रोग फैलिरहेछ ।”
“दादा, तेरो प्रेमिका त तँलाई कोरोना भयो भनेर हरिशसँग लागिछ ! ” बहिनी चुट्की बजाउँदै आमा भएतिर दगुरी ।
(धनगढी, कैलाली)