डराउँछ सरकार हिजोआज खुब डराउँछ कर्णालीभन्दा लामो भोकको जुलुस नागढुङ्गा हुँदै काठमाडौं झरिरहेको देखेर । तर्सन्छ सरकार अचेल खुब तर्सन्छ कोसीभन्दा फराकिलो अभावको बाढी नगरकोटबाट राजधानी पसिरहेको देखेर । कहालिन्छ सरकार हर प्रहर खुव कहालिन्छ सगरमाथाभन्दा अग्लो गरिबीको पहाड जब खसिरहेको देख्छ गुर्जे भञ्ज्याङबाट बालुवाटारतिर । आत्तिन्छ सरकार पलपलमा खुब आत्तिन्छ सिनित्तै मधेश सुस्केरा हैन प्रचण्ड आँधी भई चन्द्रागिरीबाट सोझै सिंहदरवारतिर हान्निइरहेको देखेर । छट्पटिन्छ सरकार विक्षिप्त भई खुव छट्पटिन्छ आधा मृत्युभित्र कचल्टिएकोे सपना बोकेर बिमानस्थल झर्दे गरेको तरुणहरूको नदी देखेर । वरिपरि सेना, प्रहरी, अदालत, प्रशासन राखेर जनताका करङजस्तै देखिने बन्दुकको रिमोट समातेर त्यो रातो हबेलीबाट समृद्धिको प्रहसन देखाइरहेको सरकार दिनदहाडै किन डराइरहेको छ ? किन तर्सिरहेको छ ? आफ्नै छायाँ देखेर हरपल किन आत्तिरहेको छ ? किन कहाल्लिरहेकाे छ ? किन छट्पटिरहेको छ ? आफ्नै प्रतिबिम्ब हेरेर । ठिक यतिबेला म सोचिरहेछु आगोको गीत यतै कतै गुञ्जिरहेछ ! (मकवानपुर)