डराउँछ सरकार
हिजोआज
खुब डराउँछ
कर्णालीभन्दा लामो
भोकको जुलुस
नागढुङ्गा हुँदै
काठमाडौं झरिरहेको देखेर ।
तर्सन्छ सरकार
अचेल
खुब तर्सन्छ
कोसीभन्दा फराकिलो
अभावको बाढी
नगरकोटबाट राजधानी पसिरहेको देखेर ।
कहालिन्छ सरकार
हर प्रहर
खुव कहालिन्छ
सगरमाथाभन्दा अग्लो
गरिबीको पहाड
जब खसिरहेको देख्छ
गुर्जे भञ्ज्याङबाट बालुवाटारतिर ।
आत्तिन्छ सरकार
पलपलमा
खुब आत्तिन्छ
सिनित्तै मधेश
सुस्केरा हैन
प्रचण्ड आँधी भई
चन्द्रागिरीबाट सोझै
सिंहदरवारतिर हान्निइरहेको देखेर ।
छट्पटिन्छ सरकार
विक्षिप्त भई
खुव छट्पटिन्छ
आधा मृत्युभित्र
कचल्टिएकोे सपना बोकेर
बिमानस्थल झर्दे गरेको
तरुणहरूको नदी देखेर ।
वरिपरि
सेना, प्रहरी, अदालत, प्रशासन राखेर
जनताका करङजस्तै देखिने
बन्दुकको रिमोट समातेर
त्यो रातो हबेलीबाट
समृद्धिको प्रहसन
देखाइरहेको सरकार
दिनदहाडै किन डराइरहेको छ ?
किन तर्सिरहेको छ ?
आफ्नै छायाँ देखेर
हरपल
किन आत्तिरहेको छ ?
किन कहाल्लिरहेकाे छ ?
किन छट्पटिरहेको छ ?
आफ्नै प्रतिबिम्ब हेरेर ।
ठिक यतिबेला
म सोचिरहेछु
आगोको गीत
यतै कतै गुञ्जिरहेछ !
(मकवानपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।