हान्यो
सारै हान्यो ।
उठ्नै नसक्ने गरी
कहिले पुर्वबाट सुनामी बनेर
कहिले पश्चिमी चक्क्रबात बनेर
बेला बेलामा बजाएकै छ
कर्कस लाग्ने धुनहरू ।
यता नचाउँछ, उता नचाउँछ
नाच्दा नाच्दै
उठ्नै नसक्नेगरी
लमतन्न् पल्टिएको छ
तैपनि
भयङ्कर मेघको गर्जनबाट
थिचिएको फर्सीको मुन्टाजस्तै
समाउने डाली खोज्दै
टाउको उठाउन
भयानक तुफानले
बाङ्गिएका मकैका बोटजस्तो
आधा शरीर लिएर
पीडा खेप्न बाध्य छ आजको मान्छे ।
आँसु !
आँसुको कुनै मूल्य छैन
खुला बजारमा
लिलामीको भाउमा बिज्ञापन
छापिएकै छ।
प्रचण्ड धुपको बेप्रवाहमा
तछाड मछाड गर्दै
भिड्नेहरू
आज
चारदिवारभित्र बन्दी
मानौकी
कुनै असहीय अपराधको
भागिदार भएजस्तै
चियाउँछ झ्यालबाट
सडक,बजार र गल्लीमा
यमराजको ताण्डब नृत्यको
मञ्चन देखेर
मृत्युको त्रासले
बन्दी जीवन भोग्न बाध्य
आजको मान्छे ।
मकैजस्तै बाङगिदै
उठ्न विवश
आजको मान्छे !!
(तनहुँ)