बिर्जु सर टोलमा निकै कहलिएका शिक्षक । लामो समयदेखि शिक्षण पेशामा रहेकोले मात्र हैन बरु विषयप्रतिको उनको ज्ञानले गर्दा पनि उनी विद्यालय र आफ्नो टोलछिमेकमा सम्मानित छन्, सबैले आदर गछॅन् । नम्र अनि शिष्ट छन् तर अनुशासनमा कडा भएकाले विद्यार्थीहरु उनीसँग अलि बढी नै डराउँछन् ।
उनको कक्षाका विद्यार्थीहरु परीक्षामा अनुत्तीणॅ हुने कल्पना पनि गर्दैनन् । अरु विषयको गृहकायॅ गरे पनि नगरे पनि विद्यार्थीहरुले विर्जु सरले पढाउने विषयको गृहकायॅ गरेकै हुन्छन्, दिइएको पाठ एकपटक हैन दुई पटक पढेर र घोकेरै विद्यालय जान्छन् ।
गत वषॅमात्र विर्जु सर असल शिक्षक पुरस्कारबाट पुरस्कृत भैसकेका हुन् । त्यसले पनि उनको उचाई बढाएको थियो । अभिभावकको अनुरोधमा कतिपय विद्यार्थीलाई छुट्टी भएपछि उनी विद्यालयमै अतिरिक्त समय पढाउँछन् । ट्युशनका लागि उनी घरघर जान उत्ती मन पराउन्नन् ।
सञ्चो नभएकोले आज उनी अलि चाँडै घर आएका थिए । पढाई दिने शतॅमा गाउँबाट ल्याइएको केशरवाले उनलाई पानी दियो । बिर्जु सर ओछ्यानमा पल्टिएपछि केशरवाले उनको गोडा मिचिदियो । तेह्र वर्षीय केशरवाको हातमा गमजस्तो केही लाग्यो । दौडेर ऊ हात धुन गयो । कसोकसो उसलाई बान्ता होलाझैं भयो । बिर्जु सरले बोलाएको पनि उसले नसुनेझैं गरेरै जुस बनाएर ल्यायो ।
“सर जुस लिई हाल्नुस् ।” केशरवाले भन्नेबित्तिकै बिर्जु सरले जमाएर एक झापट लगाए केशरवालाई । जुस पोखिँदा ग्लास पनि फुट्यो ।
“साले, मैले बोलाउँदा नसुन्ने तैंले ? भिखारी, यो सबै सफा गर र बाथरुममा भएका मैसाबका फरियाहरु धोएर सुकाई हाल । अनि तँ छिटो नुहाएर आइहाल रे ।”
केशरवा झापटले रातो भएको गाला सुम्सुम्याएर सुसुकाउँदै शिशाका टुक्राहरु उठाउँदै थियो । दुई डरलाग्दा आँखाहरुले केशरवालाई घुरिरहेका थिए ।
(काठमाडौं)