गत वर्ष पनि पहाडको फेदीबाट ठ्याक्कै यसैगरी उकालो लागेको थियो गाडी । उनीहरू यसैगरी बसेका थिए एउटै सीटमा ।
‘आहा! हेर्नू न ! पहाड सुरु हुनेबित्तिकै कति मीठो हावा चलेको । शरीरमा छुट्टै आनन्द आउन थाल्यो । ऊ हेर्नु त त्यहाँ, रातै लाली गुराँस । आहा ! कस्तो हरिया पहाड ? जता पनि हरियाली मात्र । त्यो पारिको चट्टाने भीर पनि कति सुन्दर ! नेशनल जोग्राफीमा देखाउने जस्तो । अहो ! सेतो हिमाल ! तपाईं यी सबै खिच्नु है मोवाइलमा । म त आँखाभरि हेर्छु ।´ बहुत उत्तेजित हुँदै हरेक कुराको वर्णन गरेकी थिइन् उनले ।
यो वर्ष उही नभए पनि उस्तै थियो सबै कुरा । गत वर्षको भन्दा अझ आरामदायी गाडी । झन सुन्दर पहाड र टाढा देखिने अझ सुन्दर हिम शृङ्खलाहरू ।
गाडी पहाड उक्लन सुरु गर्नेबित्तिकै उनले भन्न सुरु गरिन् , `पहाड लाग्नेबित्तिकै मलाई त रिङ्गटा लाग्न सुरु भयो । सधैं यस्तै हुन्छ ।` उफ् ….. बाटो पनि कति घुमाउरो हो …. । कति हल्लाउने हो गाडीले पनि । टाउको दुखेर मर्न लागिसकेँ । मलाई त वमिट हुन्छजस्तो छ । हेर्न राम्रो भएर मात्र के गर्नु … । आदि ।´
`वमिट रोक्ने, टाउको दुखाइ कम गर्ने औषधि खान्छ्यौ त ?´ उसले काननिरै मुख लगेर साउतीको स्वरमा सोध्यो ।
उनले नाईं सूचक टाउको हल्लाइन् मात्र । चुपचाप ।
उसको दिमागमा गत वर्षको रमणीय यात्रा आउँदै जाँदै गरिरह्यो । साथै एउटा अब्यक्त पीडा पनि ।
गत वर्ष उनीहरू प्रेमी प्रेमिका थिए । विदा मनाउन उनीहरू अर्कै पहाड तिरको यात्रामा थिए । र, यो वर्ष उसको पहाड घर ।
(अरूण, भोजपुर)