भुन्टेका बा र म सँगै इट्टाभट्टामा काम सकेर फर्कदै थियौँ । केटाकेटीको बिधालय छुट्टी भनेका थिए । बिहानै घर धन्दा सकेर भट्टा मा हिँडेका थियौँ । ईट्टाभट्टामा कामदारहरुको उपस्थिति सधैभन्दा पातलो थियो । कोही माटो मुछ्न थाले कोही सुकाउन त कोही बोक्न ।
सधैझैँ काम सकेर हामी हटिया बजारको बाटो भएर फर्कदै थियौँ । चैत लाग्न आटेको थियो । घरको खरको छानो फेर्ने हाम्रो धोको थियो । हटिया बजारकै पसलबाट काटीकिला र टिन (जस्तापाता) बोकेर भुन्टेका बाभन्दा अगाडी अगाडि म हिँड्दै थिएँ । अचानक महिलाको एकहुल आए । उनीहरुले भारी बिसाउन लगाउँदै भुन्टेका बालाई सातो जानेगरी हकार्न थाले ।
ओठमा रातो दलेका अनुहारमा “कमेरो” दलेका थाप्लोमा कालो चस्मा लगएका महिलाहरूले मेरो थाप्लोको नाम्लो खोसेर भुन्टेका बालाई हकार्दै भन्दै थिए, “आज नारी दिवस” महिलाको हक र अधिकार हनन गर्ने ? भारी बोकाउने ? तपाईंको घरको छाना छाउनु छ त तपाईंले नै लैजानु यो जस्ताको भारी !
भुन्टेका बा निशब्द हेरिरहे । म भने अभिजात बर्गका त्यो समुहलाई हेरिरहेँ । हेरिरहेँ ।
(तनहुँ)