वर्तमान समयको आलु घडीमा यतिबेला ठ्याक्कै १२ बजेर २७ मिनेट गएको छ सधैं अरु कसैलाई १२ बजाइदिउला भनेर धम्क्याउदै हिंड्ने कुनै दम नभएर पनि फेरि हरदम नामधारी हरदम नेपालीको फुस्किएको छ दम सधैंसधैंका लागि ... ! प्रत्येक मान्छे एउटै टाउकोले उभिएर दुवै खुट्टामा लगाएर हिंडेको छ भादगाउँले ढाका टोपी एउटै भएको जो गला तल ओर्लेसँगै माथि उक्लिएको दुई घुँडामा अल्झाएर नक्कली फुलको माला ... ! टाउकोले टेकिएर उभिनु परेपछि पैतालाझैँ पटपटी फुटेका छन् टाउकोभित्र बाँकी रहेको अलिकति बुद्धिविवेकका थोपाहरु पानीको फोकाजस्तै सबैभन्दा अग्लो उचाइमा पुगेको भ्रमित अहंकारले ग्रसित छन् दुवै खुट्टाका दसै औंलाहरु ... ! अहिलेसम्म हुटिट्याउले धानिरहेको सिङ्गो आकाश यतिबेला आफैंले धानेर बसिरहेका छौँ र धर्तीमा खस्नबाट जोगाइरहेका छौँ ... यस्तै सोचिरहेका छन् दुवै पैतालाले पनि ! टाउकोले टेकेर उभिएको बेला उल्टो देख्दारहेछन् दुवै आँखाले ढ्याब्रे चस्मा लगाउनै नमिलेर होला ! उल्टो सुन्दारहेछन् दुवै कानले उल्टै सुँघ्दोरहेछ एउटै भएको नाकले पनि र, उल्टै बोल्दोरहेछ एउटै भएको मुखले पनि ... ! नीलो भएर जम्दोरहेछ अनुहारमा रगत अडिँदोरहेनछ उल्टो निधारमा अक्षता । सबैभन्दा निधो हुँदो रहेछ तालुमा फलिरहेको बेमौसमी आलुको केही काम हुँदैन रहेछ दुवै हातको स्वाट्टै सुक्दोरहेछ खहरे खोलाको भेलजस्तै अहिलेसम्म उछिट्टिदै बाहिर निस्केर बसिरहेको घ्याम्पे भुँडी ... ! (स्याङ्जा)