चिसो र तातो मिसाउँदा
चर्किन सक्छ
अझ फुट्न सक्छ
सिसाजस्तै
आखिर मानिसको दिल पनि त
सिसाजस्तै हो
चर्किजाने
फुटिजाने
जब चिसो वचनले
तातो मुटुमा छुन्छ
मुटु चिराचिरा पर्छ ।
तातो तातो भाषण गर्दा
थाहै हुदैन
कुनै दिन
त्यो जमात
त्यो ताली
त्यो झूठो तारिफ
सेलाएर
चिसोचिसो हुन्छ ।
अनि त्यो चिसोलाई
चुरूफुरु हुनेको क्रियाकलापले
धपधप बल्नेको तापले
पगाली दिन्छ
पग्लि बलिन्द्रधारा बगेको मैनजस्तै ।
तत्पश्चात्
चिसो पसेको मनभरि
तातोतातो आँसुका थोपाहरु
बगिरहन्छ
नमीठो लाग्नेगरी ।
भलै धपक्कै बलेको रापलाई
शक्तिवाल भनी
विश्वास गरी
अर्को शक्ति
नरम र मधुरो भई
चिसो हृदय लिई मिल्न जाओस्
आखिरमा भइहाल्छ
चिसो र तातो शक्तिको घर्षण ।
तातो तातो बढ्दै
झन तातो हुँदै जान्छ
त्यसपछि चिसोमा
एक्कासी तातो मिसिएपछि
एकै चोटी रनक्कै तातेपछि
जति ठूलो भयङ्कर भए पनि
जति शक्तिशाली भए पनि
कसैले हल्लाउन पनि सक्दैन भन्ने ठाने पनि
कुनैपनि चिज
एक्कासी चर्किन्छ
चिराचिरा परेर
ठूलो जोडको आवाजले
झ्वाम्म फुट्छ
चकनाचुर भएर ।
देखेका सारा मीठामीठा सपना पनि
जोडिनै नपाई
भुइभरि छरिन्छन्
चकनाचुर भएर ।
(लस एन्जेलस)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।