तिम्रा बेबुनियाद कुण्ठाका बिच
असल मान्छेको सही प्रयत्नको धरातलमा
तिमीले गाँइगुँइ गरिरहँदा
तिमी स्वयं स्रेस्ताको अडिटर भएर हेर
अरबौँको बेरुजु छर्लङ्ग देखिनेछ ।
मनको गोश्वारा बुझाउन मन्दिर त जान्छौ
पाप कटाउन बोका, हाँसको बली दिन्छौ
सबैको चित्त बुझाउन रिझाउने चिल्लो घस्छौ
एकैछिन स्वयं को आत्मालाई मजाक गरेर त सोध
अर्काको निम्ति नगर्नुपर्ने कुरो गरिएको तिम्रो प्रतिवेदनको शिर्षक देखिनेछ ।
नैतिक रुपमा तिमी दर्जावान् देखिए पनि
भौतिक रुपमा तिमी उर्जावान् देखिए पनि
यथार्थमा पारदर्शी नजरको आँखीझ्यालबाट
बाह्य हृदयको आवरण पुछेर हेर
असुल उपर तुरुन्तै गर्नुपर्ने बेरुजु छर्लङ्ग देखिनेछ ।
सुशासन को भौचर नभरिकन
शुद्ध मनको पर्खालभित्र अशुद्धताको बिल फाइलिङ गर्दा
तान्त्रिकले भस्म फुकेर उडाएसरि कुरा उकेल्दै उफ्रिदा
के सही र के गलतको परिबन्दमा डुबुल्की मारेर हेर
फर्स्योट हुनै नसक्ने बेरुजु छर्लङ्ग देखिनेछ ।
तुफान, सुनामी र ज्वालामुखी विष्फोट नभएपनि
स्वमूल्याङ्कन को ऐनामा तस्बिर हेर्दा देखिनेछ धुजाधुजा
विराट व्यक्तित्व साँच्चै देखिने छन् जाज्वल्यमान्
निस्पक्ष, सुविचारको सिधा बाटोमा हिँडेर हेर
असली चिन्तनको तृप्ति किन अघि नगरेको भन्ने देखिनेछ ।
(कञ्चनपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।