चैत ५, काठमाडौं ।
हिजो बुधबार जेबियर इन्टरनेशनल कलेजमा रहेको जेबियर लिटरेचर क्लवले ‘मेरो कविता र प्रतिबिम्ब’ कार्यक्रम आयोजना ग¥यो ।
‘मेरो कविता र प्रतिबिम्ब’ शीर्षक राखेर आयोजना गरिएको उक्त कार्यक्रममा आठ कविका कवितामा कोरिएका चित्रहरूको प्रदर्शनी गरिएको थियो । कवि विष्णुविभु घिमिरे, बेन्जु शर्मा, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, लक्ष्मी उप्रेती, विष्णु भण्डारी, सुशीला प्रधानाङ्ग, ललिता दोषी, दीपक लोहनी, कविता विष्ट र नवीन महताेका कवितामा व्यक्त भावका आधारमा कलेजमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले चित्र बनाएका थिए ।
कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरूको बिचमा कविता प्रतियोगिता समेत गराइएको थियो । प्रतियोगितामा बाचन गरिएका कविताको मूल्याङ्कन कवि इन्द्रकुमार श्रेष्ठ ‘सरित’ र लक्ष्मी उप्रेतीले गरेका थिए ।
प्रतियोगी कविहरूमध्ये अङ्ग्रेजी भाषा तर्फ प्रथम, दोस्रो र तेस्रो स्थान क्रमशः कवि स्नेहा भट्ट, सिमाना कुवँर र काव्या लिम्बूले प्राप्त गरेका थिए भने नेपाली भाषा तर्फ प्रथम, दोस्रो र तेस्रो स्थान क्रमशः कवि सचिता काप्री, बिक्की कुमार झा र रितिका रामदामले प्राप्त गरेका थिए ।
कवितामा आर्ट बनाउनेहरूको बिचमा समेत प्रतियोगिता गराइएको थियो । आर्टतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान क्रमशः रिजुकी श्रेष्ठ, आस्था शर्मा र रिनु मण्डलले प्राप्त गरेका थिए ।
कवि बेन्जु शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता ‘मेरो कविता र प्रतिबिम्ब’का परिकल्पनाकार जेबियर इन्टरनेशनल कलेजका सहप्रध्यापक दीपेन दाहालले गरेका थिए ।
कार्यक्रमको सञ्चालन बाह्र कक्षामा अध्ययनरत विद्यार्थी कुमारी लिम्बु र प्रशंसा बरालले गरेका थिए भने कार्यक्रमको संयोजन जेबियर लिटरेचर क्लबकी अध्यक्ष सिमाना कुवँरले गरेकी थिइन् ।