गिरतनी,
थाहा छ तपाईंलाई ?
यो मुसाको दुलोभित्र खन्याएको पानीले
पाताल भेटाउछ / भेटाउदैन,
या सोसिदिन्छ यो मट्टीले
मेरा आँखाबाट नअटाएर खसेको
केही ढिक्का आँशुलाई जस्तै ।
म चानो ऋषिदेव,
ऋषिहरुको देउता भएर नि अपवित्र छु ।
सोच्छु बारबार
चक्राइरहन्छ मेरो माथ अनि,
मेरो पुर्खा सबरी मुसहर्नीले दिएको
जुठो बयर
किन स्विकारे भगवान रामले ?
अनि किन स्विकारेनन्
मैले छोइदिदाको पानी ?
तर उफ !
मेरो जवानी किन बयर भएको छ
गिरतको ओठमा सदियौँदेखि ?
दानो भएर किन मिल्किएकी छु
मालिकको बारीमा ?
गिरतको बारीको धान खाने
मुसाकै बाटो
किन खन्नु पर्छ हाम्रो मरदले सदियौँदेखि ?
थाहा छैन
संविधानको स्वाद
खमारमा पोलेको मुसाको चटनीभन्दा
मीठो हुन्छ कि ?
शोषितपीडित भनेको को हो ?
गिरतनी,
मलाई त लाज छोप्न पनि धौ धौ छ,
राजनीतिले छोप्न मिल्छ / मिल्दैन ?
विनाफसलको बोट बनेको छ जिन्दगी,
यहीबेला श्रीराम आए भने
कसरी दिनेहोला बयर ?
र कसरी माग्नेहोला वरदानमा मैले दिनाभद्री ?
आफै सबरी बनेर ।
(मोरङ)