ए बा ! म जान्न
जान्न भनेपछि म जाँदै जान्न
मैले देखेको छु नि
तिमी गयौ
तिम्रो दुई थोपा रगतले
अक्षरमा बुट्टा हाने
कालो अक्षरलाई रातो बनाए
उनीहरूको नाम मक्किएको थियो
तिम्रो रगतले चमक दिए
नयाँ नाम लेखिएन
ए बा ! तिम्रो नाम त्यहाँ कतै देखिएन ।
तिमी रगत बगायौ
वरपर ढुकेर बसेका सहरिया भुस्याहा कुकुरहरू
छद्म भेषमा लुकेर बसेका हाइनाहरू
दाँत कटकटाउँदै, जिब्रो लपलपाउँदै
आपसमा लड्दै, खोसाखोस गर्दै
रगत चाट्न आइपुगे ।
रगत त सिकिस्त आमालाई चाहिएको हो
मलाई थाहा छ,
रगत उनकै लागि चढाइएको हो
रगतको अभावमा आमाको वदन सुकेको थियो
तिम्रो रगत बिच बाटोमै लुटियो ।
उनको प्यास मेटिएन
रगत खोसियो, घाऊ सेकिएन
हाइनाहरूले कालो नामलाई रातो बनाए
सहरिया भुस्याहा कुकुरले
आलो मासु चपाउँदै रमाए ।
उनीहरूको नामको धब्बा मेटियो
पुरानै नाममा चमक थपियो
खैत ! नयाँ नामै लेखिएन
ए बा ! तिम्रो नाम त्यहाँ कतै देखिएन ।
यति जान्दा जान्दै
बधशालामा कसरी जाऊँ
जहाँ
रगत हाइनाले चाट्छन्
जहाँ
सहरिया भुस्याहा कुकुरले मासु लुछ्दै डकार्छन् ।
ए बा ! म जान्न ।
बधशालामा म जाँदैजान्न
बरु म उसको नुन खान्न
ए बा ! म जान्न ।
(दाङ)