बजार घुमेर
भाषण ठोकेर
सबै कुरा सकेर
घर फर्केपछि
कोठामा छिर्ने बेलामा
श्री ६ महाराजलाई बल्ल थाहा भयो
आज मौसुफले
कट्टू लगाउनै भुल्नु भएको रहेछ !
दौरा लगाउनु भयो
कोट लगाउनु भयो
एउटा नक्कली श्रीपेच पनि लगाउनु भयो
चस्मा लगाएर ऐनामा हेर्नु भयो
ऐनाले तलको कुरा देखाएन
मौसुफ मुसुक्क मुस्कुराउनु भयो
र सवारी हुनु भयो !
यो श्रीपेच लगाउने हतारोमा
नयाँ मौसुफले
सुरुवाल विर्सनु भयो
कट्टू बिर्सनु भयो
र खुरु खुरु सबारी हुनु भयो ।
कोठामा छिरेपछि
नव महारानीले जब
जिब्रो झिक्तै सोधिन
बुढा ! खै त कट्टू ?
मौसुफ झस्याङ्ग हुनु भयो
र हतारमा छाम्नु भयो
मौसुफको मुठ्ठीमा
मौसुफको लाज मात्र थियो
धागो नामको कुनै जिनिस थिएन ।
एता बजारभरि
नयाँ रैतीहरूले
महाराजको जन्मोत्सवको तयारी गरिरहेका थिए
र सडकभरि टाँगिएको थियो
महाराजको कट्टू नलगाएको तस्विर !
दोश्रो दिन
बजारभरि भाइरल भयो
मौसुफको कट्टू हराएको खवर ।
(भक्तपुर)