विषय प्रवेश
१. मानव समाजको विकासमा मान्छेले गरेको श्रमकार्य र त्यसको समग्र परिणामलाई संस्कृति भनिन्छ । उत्पादनका लागि गरिने श्रमप्रक्रियाका बीचबाट नै संस्कृतिको निर्माण हुन्छ । संस्कृति अन्तर्गत विचार,मूल्य,मान्यता,आचार, रीतिरिवाज, चालचलन आदि पर्दछन् । माक्सिम गोर्कीका अनुसार मानव निर्मित दोश्रो प्रकृति नै संस्कृति हो । माओत्सेतुङ्गले सम्बन्धित समाजको अर्थतन्त्र र राजनीतिको विचारधारात्मक प्रतिविम्वनलाई संस्कृति मानेका छन् ।
मानवीय सिर्जनामा पाइने सौन्दर्यको अभिव्यक्तिलाई कला भनिन्छ । कलाको काम जीवन र जगतको सौन्दर्य बोध गराउनु हो । उद्देश्यपूर्ण श्रम नै कलाको स्रोत हो । कलाले सौन्दर्यको प्रकटीकरण गर्दछ र यो सामाजिक चेतना तथा मानवीय क्रियाकलापको विशिष्टरूप हो । मानव समाजको उत्पत्तिदेखि नै श्रमको प्रक्रियामा संलग्न मानवीय क्रियाकलापहरूबाट कलाको उत्पत्ति भएको हो । साहित्य मानवीय अनुभूतिको भाषिक प्रकाशन हो । सामूहिक मानवीय श्रमका सन्दर्भमा व्यक्तिको मानसिकतामा घटित सौन्दर्य चेतनाको भाषिक अभिव्यक्ति नै साहित्य हो ।
२. फायरबाखको दर्शनमा रहेको भौतिकवाद र हेगेलको दर्शनमा रहेको द्घन्दबादको संयोजन गरी कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले ‘द्धन्दात्मक भौतिकवादी’ दर्शनको प्रतिपादन गर्नुभयो । प्रतिपक्षहरूको एकत्व र संघर्ष, निषेधको निषेध तथा मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन द्धन्दात्मक भौतिकवादका आधारभूत नियमहरूहुन् । मानव इतिहासको द्धन्दात्मक भौतिकवादी व्याख्या नै ऐतिहासिक भौतिकवाद हो । द्धन्दात्मक र ऐतिहासिक भौतिकवादको आधारमा प्रकृति र समाजको वैज्ञानिक व्याख्या गर्ने यही दर्शन नै माक्र्सवाद हो ।
माक्र्सवादले ब्रम्हान्डमा भएका हरेक पदार्थहरूनिरन्तर गतिमा हुन्छन् र यो जगत सदैव परिवर्तनशील हुन्छ भन्ने धारणा राख्दछ ।
माक्र्सवादी मान्यता अनुसार सामाजिक स्थितिले चेतनाको निर्धारण गर्दछ । माक्र्सबादी दर्शनले केवल संसारको व्याख्या मात्र गर्दैन बरु यसलाई बदल्नु पर्छ भन्नेमा जोड दिन्छ । माक्र्सवादी दर्शनले शोषकवर्गको सेवा नगरेर सर्वहारा श्रमजीवी वर्गको सेवा गर्दछ र समाजवाद निर्माणगर्ने संर्घषको नेतृत्व गर्दछ ।
माक्र्सवादी दर्शन पूँजीवादी साम्राज्यवादी व्यवस्थाको विरुद्धको संर्घषमा सर्वहारा वर्गको बौद्धिक अस्त्र बनेको छ । लेनिनले भन्नु भएको छ, “माक्र्सवादी विश्व दृष्टिकोणले मात्र क्रान्तिकारी सर्वहारावर्गको स्वार्थ, दृष्टिकोण एवं संस्कृतिको उचित अभिव्यक्ति गर्न सक्दछ ।”
साहित्य, कला, संस्कृति र वर्गपक्षधरता
१. साहित्य, कला र संस्कृतिको श्रोत समाज हो । समाज वर्ग विभाजित छ । तसर्थ वर्गीय समाजमा साहित्य कला र संस्कृति पनि वर्गीय नै हुन्छ । शोषक वर्ग सदैव प्रतिक्रियावादी , प्रतिगामी , एवं उत्पीडनकारी संस्कृतिको पक्षमा उभिन्छ । श्रमजीवी वर्गप्रति आर्थिक र मानसिक दासता लाद्नु, शासकवर्गको उच्चता र शासित वर्गमा हीनताको भावना विकास गराउनु शोषक वर्गीय संस्कृतिको उद्देश्य हो । यसको विपरीत श्रमजीवी वर्ग क्रान्तिकारी एवम् सामूहिकतावादी संस्कृतिको निर्माणमा प्रयत्नशील रहन्छन् ।
२. साहित्य कला र विचारधाराको अविभाज्य सम्बन्ध हुन्छ । वर्ग समाजमा साहित्य र कला विचारधाराको सम्बाहक बन्दछन् । वर्गीय राजनीतिले साहित्य र कला लगायतका चेतनाका अरु रूपहरूमाथि प्रभाव पारिराखेका हुन्छन् । साहित्य, कला, संस्कृति र विचारधाराको बीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । विचार र राजनीतिभन्दा बाहिर रहेको कला साहित्य हुँदैहुँदैन । कलात्मक सिर्जनालाई विचारधाराले निर्देशित गरेको हुन्छ ।
माक्र्सवादका विरोधीहरूले साहित्य र कलालाई राजनीति र विचारधाराभन्दा बाहिर राख्नुपर्ने कुराको वकालत गर्दछन् र उनीहरूले “कला कलाको लागि” भन्ने जीवन विरोधी चिन्तनको पक्षपोषण गर्दछन् । कला र साहित्य वर्ग पक्षधरताभन्दा माथि हुन्छ र यसको राजनीतिसंग कुनै साइनो हुदैन भन्ने उनीहरूको ढोँगी र पाखण्डपूर्ण चिन्तन मात्र हो । यो चिन्तनले केवल शोषक वर्गको मात्र सेवा गरिरहेको हुन्छ ।
३. कार्लमाक्र्सका अनुसार जुन वर्गसँग भौतिक उत्पादनका साधनहरू हुन्छन्, त्यसै वर्गले बौद्धिक उत्पादनमाथि पनि आफ्नो नियन्त्रण कायम राखेको हुन्छ । तसर्थ सत्तारुढ वर्गले अर्थतन्त्रका साथसाथै साहित्य र कला जस्ता बौद्धिक उत्पादनमा पनि पूर्ण नियन्त्रण कायम गर्दछ । शासक वर्गले आफ्ना पक्षमा लेखिएका कला साहित्यलाई संरक्षण गर्दछ भने श्रमजीवी वर्गको पक्षमा उँभिने विचार, कला, संस्कृति र साहित्यलाई दमन गर्दछ ।
माक्र्सवादी अवधारणा
१. माक्र्स र एंगेल्सले आफ्ना बिभिन्न कृतिहरूमा साहित्य, कला र संस्कृतिसम्बन्धी आफ्ना विचारहरू व्यक्त गर्नु भएको छ । उहाँहरूले शेक्सपियर, गेटे, बाल्जाक, शेलीजस्ता महान् साहित्यकारहरूका कृति र प्रवृत्तिबारे पनि टिप्पणी गर्नु भएको छ । यिनै कुराहरूबाट नै साहित्य, कला र संस्कृतिबारे माक्र्सवादी अवधारणाको शुरुवात हुन्छ । त्यस्तैगरी सन् १९०५मा लेनिनले लेख्नु भएको ‘पार्टी संगठन र पार्टी साहित्य’ भन्ने लेख, सन् १९३४मा सोभियत लेखकहरूको सम्मेलनबाट पारित ‘समाजवादी यथार्थवाद’को सिद्धान्त, सन् १९४२मा माओले दिनु भएको येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचनले साहित्य,कला र संस्कृतिसम्बन्धी माक्र्सवादी अवधारणालाई प्रष्ट पार्ने काम गरेको छ ।
२. ‘पार्टी संगठन र पार्टी साहित्य’ लेखमा लेनिनले व्यक्त गर्नुभएका मुख्य मुख्य विचारहरूयस प्रकार रहेका छन्, ….. साहित्य आम सर्वहारा हितको प्रश्नभन्दा अलग कुरा हुन सक्दैन । साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एक अंग बन्नु पर्छ । सम्पूर्ण मजदूर वर्गको सम्पूर्ण वर्ग चेतन अग्रदलद्धारा सञ्चालित अभिन्न महान् सामाजिक जनवादी (कम्युनिष्ट ) मेसिनको ‘दाँती’ र ‘पेँच’ हुनुपर्दछ । यो पार्टी कार्यको संगठक अंग बन्नु पर्दछ । …..अखवारहरूविभिन्न पार्टी संगठनका मुखपत्र बन्नुपर्दछ र लेखकहरूपार्टी संगठनभित्रै रहनु पर्दछ । बुर्जुवाहरूले भन्ने गरेका ‘साहित्य स्वतन्त्र हुनुपर्दछ’ भन्नेकुरा सव बकवास र पाखण्ड मात्र हो । पैसाका बलमा टिकेको समाजमा, जहाँ श्रमीकहरूको विशाल समुह गरिवीको मार खाँदैछन् र मुट्ठिभर अमीरहरू मस्तीको जीवन बिताउँदैछन्, वास्तविक स्वतन्त्रता हुन सक्दैन । हामी बुर्जुवा वर्गसँग सम्बन्धित पाखण्डी स्वतन्त्र साहित्यको स्थानमा वास्तविक स्वतन्त्र , खुलारूपमा सर्वहारा वर्गसंग सम्बन्धित समाजवादी साहित्य प्रस्तुत गर्न चाहन्छौँ । समाजवादी साहित्य स्वतन्त्र साहित्य हुनेछ जसले कुनै परितृप्त नायिका अथवा बोसोले ढाकिएका माथिल्लो तहका दशहजार व्यक्तिको सेवा नगरेर करोडौं श्रमीक जनताको सेवा गर्नेछ । पूजीँवादी गुलामीबाट छुटकारा पाएर वास्तविक प्रगतिशील र वास्तविक क्रान्तीकारी वर्ग संघर्षसंग एकाकार हुन सकेमा साहित्यले आफ्नो सार्थकता सिद्ध गर्नेछ । ”
३. एनान गोष्ठीमा साहित्य र कलाबारे क. माओले व्यक्त गर्नु भएका मुख्यमुख्य धारणाहरू यसप्रकार छन्ः …शत्रुलाई परास्त गर्न बन्दुकधारी सेनामात्र पर्याप्त हुदैन, सांस्कृतिक सेना पनि हुनुपर्दछ । लेखक कलाकारहरूले ‘जनशैली’ अपनाउनु पर्दछ । लेखक कलाकारहरूका भावना र विचारहरू मजदूर, किसान, जनसमुहका विचार र भावनाहरूसित ठ्याम्मै एकरूप भएर मिल्नु पर्दछ । आफूलाई माक्र्सवादी ठान्ने लेखकले माक्र्सवाद लेनिनवादको ज्ञान हासिल गर्नैपर्दछ । वुर्जुवाहरूले साहित्य र कलालाई वर्गभन्दा माथि ठानिरहेका हुन्छन् जुन सरासर गलत कुरा हो । साहित्य र कलाले कुनै न कुनै वर्गको सेवा गरिरहेकै हुन्छ । व्यक्तिवादी, निम्न पूँजीवादी अडान लिने लेखक कलाकारहरूले मजदूर र किसान जनसमुदायको सेवा गर्न सक्दैनन् । “कसका लागि ?” भन्ने सवाल नै साहित्य र कलाको आधारभूत सवाल हो । जनजीवन सधै नै साहित्य र कलाको कच्चा पदार्थहरूको खानी हुन्छ । लेखक कलाकार जनसमुहको बीचमा जानै पर्दछ , उनीहरूबाट विषय बस्तु ग्रहण गरेर उनीहरूले बुझ्ने गरी विषयबस्तु सम्प्रेषण गर्न सक्नु पर्दछ । क्रान्तिकारी साहित्य र कलाले वास्तविक जीवनबाट विभिन्न खालका पात्रहरूसिर्जना गर्नुपर्दछ र इतिहासलाई अघि बढाउने काममा जनसमुहलाई मद्दत गर्नु पर्दछ । जनपक्षीय रचनाहरूसरल र सुबोध हुनु पर्दछ । सवै संस्कृति, सवै साहित्य र कला कुनै खास वर्गकालागि हुन्छन् । वर्गहरूभन्दा माथिको ,राजनीतिबाट अलग्गिएको स्वतन्त्र कला भन्ने त्यस्तो चीज कतै हुदैन । जतिसुकै प्रतिभाशाली र स्तरीय भएता पनि आम जनसमुदायको सेवा गर्न नसक्ने कला साहित्यको कुनै मूल्य हुदैन । कला र साहित्य राजनीतिको मातहतमा रहन्छन् । जतिसुकै उच्च स्तरीय कलात्मक गुणले सिंगारिएको भएतापनि सर्वहारा साहित्य र कलालाई पूँजीपति वर्गले सधै अस्वीकार गर्दछ । राजनैतिक दृष्टिले घोर प्रतिक्रियावादी रहेका कृतिहरूमा उच्चस्तरिय कलात्मक गुण भएतापनि ती जनताकालागि विखालु हुन्छन । राजनैतिक दृष्टिले जतिसुकै प्रगतिशील भएपनि कलात्मक गुण नभएका कलाकृतिहरूमा कुनै ज्यान हुदैन । तसर्थ “पोस्टरे र नारावादी” शैलीको विरोध गर्नु पर्दछ। साहित्य र कलाले वर्गशत्रु प्रति पे्रम होईन घृणा गर्न सिकाउनु पर्दछ , निराशा र वैराग्यको संप्रेषण होईन, आशावाद र उज्यालो पक्षको सञ्चार गर्नु आवश्यक हुन्छ । साहित्य र कलाले नराम्रोको ध्वंश र आलोचना मात्र गरेर पुग्दैन, नवीन र उज्यालो भविष्यको निर्माणको बाटो देखाउन पनि सक्नुपर्दछ । लेखक कलाकारहरू सांगठनिक रूपमा कम्युनिष्ट पार्टीमा सामेल हुने तर विचारधारात्मक रूपले गैर माक्र्सवादी भैरहने स्थितिको अन्त्य हुनु आवश्यक छ । साहित्य, कला र संस्कृतिको क्षेत्रमा गैर सर्वहारावादी विचारधाराको विरुद्ध सर्वहारावादी विचारधाराको संघर्ष चलाउनु आवश्यक छ ।
४. सन् १९३४ मा सोभियत लेखकहरूको सम्मेलनले साहित्य र कलाको क्षेत्रमा ‘समाजवादी यथार्थवाद’ को मान्यतालाई आत्मसात् ग¥यो । सन् १९१७ को महान् अक्टोवर क्रान्तिपछि सोभियत भूमिमा समाजवाद निर्माणको महान् अभियान प्रारम्भ भयो । क. स्टालीनको नेतृत्वमा समाजवाद निर्माणको महान् अभियानले तीब्रता लिन थाल्यो । समाजवादी कला , साहित्य र संस्कृतिको आवश्यकता बोध हुँदै जान थाल्यो । सोभियत संघमा समाजवाद निर्माणको निम्ति क्रियाशील किसान र कामदार वर्गको जीवन र कार्य साहित्य र कलाका विषयवस्तु बन्न थाले । साहित्य र कलाले आम कामदार जनताको चाहना र आवश्यकता पूरा गर्न सक्नुपर्दछ भन्ने ठानियो । साहित्य र कलाले समाजवाद निर्माणका महान् योद्धाहरूको वीरतापूर्ण कार्यको चित्रण गर्न सक्नुपर्छ र भोलिको सुनौलो साम्यवादी भविष्यको झलक दिन सक्नुपर्दछ भन्ने मान्यता विकसित भयो ।
समाजवादी यथार्थवादका अनुसार साहित्यले समाजवादी व्यवस्था निर्माणको निम्ति योगदान दिनु पर्दछ र साहित्य उत्साह र आशावादबाट ओतप्रोत हुनु पर्दछ । साहित्य र कलाको उद्देश्य मानवजातिलाई पूँजीवादको जुवाबाट मुक्ति दिने हो र यसले पतनशील, अश्लील र छाडा , जीवन विरोधी पूँजीवादी साहित्यको विरोध गर्नै पर्दछ । समाजवादी यथार्थवादसंग पूरानोको ध्वंश र नवनिर्माणको उद्देश्य हुन्छ । यसले लेखकीय स्वतन्त्रता र प्रतिवद्धतालाई अविभाज्य मान्दछ । सर्वहारावर्गीय पक्षधरता, विचारधारात्मक प्रतिवद्धता, राजनैतिक प्रतिवद्धता एवं सांगठानिक प्रतिवद्धता नै समाजवादी यथार्थवादको मूल प्राण हो । द्वन्दात्मक भौतिकवादी विश्वदृष्टिकोण, सर्वहारावर्गीय नैतिकता, सर्वहारावर्गीय मानवताबाद र सर्वहारा अन्तराष्ट्रवादलाई समाजवादी यथार्थवादले दृढतापूर्वक ग्रहण गरेको हुन्छ ।
माक्र्सवाद विरोधी विचारधाराहरू
१. साहित्य, कला र संस्कृतिको क्षेत्रमा माक्र्सवाद विरोधी विचारहरू पनि पूर्ण शक्तिका साथ क्रियाशील रहदै आएका छन् । रूपमा जे जसरी प्रकट भएपनि यी विचारहरूको एउटै मात्र उद्देश्य रहेको छ कि शोषणको सत्ता जसरी पनि टिकाउनु र वर्गीय मुक्तिका सम्पूर्ण संभावनालाई ध्वंश गर्नु । माक्र्सवाद विरोधी साहित्य र कलाक्षेत्रमा प्रचलित विचारहरूमा रूपवाद, अस्तीत्ववाद, विसंगतिवाद, फ्रायडवाद, उत्तरआधुनिकतावाद आदि पर्दछन् ।
२. रूपवादले साहित्य सिर्जनालाई भाषाको खेल ठान्दछ र यसले अन्र्तवस्तुलाई पूर्णतः बहिस्कार गर्दछ । अस्तित्ववादले अस्तित्वको मुलतत्व व्यक्ति र उसको स्वतन्त्रता हो भन्ने मान्यता राख्दछ । यसले हरेक परम्परागत मुल्यमान्यता, नैतिकता, संस्कृति सबै त्याज्य ठान्दछ र अन्ततः निराशा पलायन र शून्यतालाई नै लक्ष्य बनाउँदछ । विसंगतिवादले जीवनको निरर्थकताको कुरा गर्दछ ।
विसङ्ंगतिवादीहरूले जीवनलाई दुर्बोध्य मानेजस्तै साहित्य र कलाको अभिब्यक्ति पनि दुर्बोध्य भएको स्वीकार गर्दछन् । फ्रायडवादका अनुसार कला सिर्जनाको मूलमा व्यक्तिका कुन्ठित कामवृत्तिहरू हुन्छन् र यसले अचेतन मनमा रहेका अतृप्त कामवासनालाई साहित्य र कलाको श्रोत मान्दछ । दमित कामवासनाको उदात्तीकरण नै कला हो भन्ने यसको मान्यता हो ।
३. साम्राज्यवादको सांस्कृतिक आवरण नै उत्तरआनुधिकतावाद हो । उत्तरआनुधिकतावाद भनेको विनिर्माण, महावृत्तान्तको अन्त्य, यथार्थको अन्त्य, इतिहासको अन्त्य, लेखकको मृत्यु, विखण्डित मानव व्यक्तित्व, अन्तिम मनुष्य, सार्वभौमिकताको विरोध, विचारधाराको अन्त्य आदि कुराहरूको समग्रता हो । यसले क्रान्ति, मुक्ति, प्रगति र मानवजातिको उज्ज्वल भविष्यप्रति अनास्था पैदा गर्नुका साथै माक्र्सवादमाथि सवैभन्दा बढी प्रहार गर्दछ । डेरीडा, फुको, ल्योतार्ड, र बड्रिलार्ड नै उत्तरआधुनिकतावादका मुख्य प्रर्वतक मानिन्छन् ।
उत्तरआधुनिकतावादको एउटै मात्र सर्वमान्य परिभाषा दिन सकिन्न । उत्तरआधुनिकतावाद सास्कृतिक परिघटनाका विभिन्न क्षेत्रहरूसँग गासिएको छः जस्तो कि साहित्य, फोटोग्राफी, फिल्म, चित्रकला, नृत्य, संगीत आदि । उत्तरआधुनिकतावाद सन् १९७० को दशकपछि युरोप तथा अमेरिकामा देखापरेको शून्यवादी सिद्धान्तमा आधारित भ्रम, विनास, विखण्डन, र सर्वनासमा जोड दिने वाद हो । यो साम्राज्यवाद को वौद्धिक सास्कृतिक हतियार हो जसले माक्र्सवाद प्रति शत्रुतापूर्ण व्यवहार गर्दछ र साहित्य कलाका क्षेत्रमा समाजवादी यथार्थवादको प्रतिध्रुवमा खडा हुन्छ ।
प्रतिवद्धता र स्वतन्त्रता सम्वन्धमा
१. साहित्य, कला र राजनीतिका क्षेत्रमा वुर्जुवा एवं प्रतिगामी चिन्तकहरूले प्रतिवद्धता र स्वतन्त्रता सम्बन्धी अत्यन्तै भ्रमात्मक विचारहरू अघि सारेका छन् । वस्तु, समाज र वर्ग निरपेक्ष स्वतन्त्रताको वकालत गर्नु, स्वतन्त्रतालाई प्रतिबद्धता र आवश्यकताबाट छुट्याउने काम गर्नु, सामुहिकतावादमाथि प्रहार गर्दै चरम व्यक्तिवादको पक्षपोषण गर्नु, कला साहित्यमा मूल्यमान्यताको विरोध र उद्देश्यहिनताको घोषणा गर्नु, अराजकताको वकालत गर्नु, माक्र्सवादी लेनिनवादी विचारधाराको पूरै निषेध गर्नु प्रतिगामी मान्यताहरू हुन् । प्रतिगामीहरूले माक्र्सवादी लेखक साहित्यकारहरूमाथि सिर्जना विरोधी, स्वतन्त्रता विरोधीको आरोप लगाउछन् जुन सरासर झुटो हो । शोषणका हरेक बन्धनवाट मानवजातिलाई मुक्तगर्ने संकल्प लिएका कम्युनिष्टहरू अर्थात माक्र्सवादीहरू मात्र वास्तविक स्वतन्त्रताका पक्षधर हुन सक्दछन् । महान् माक्र्सवादी सौन्दर्यशास्त्री क्रिस्टोफर कडवेलले भनेका छन् “म कम्युनिष्ट हुँ किनभने म स्वतन्त्रतामा विश्वास गर्दछु ।”
२. लेनिनको ‘पार्टी संगठन र पार्टी साहित्य’ भन्ने लेखमा प्रतिवद्धताका साथसाथै लेखकीय स्वतन्त्रता सम्वन्धी ठोस अभिव्यक्ति पाउन सकिन्छ । प्रस्तुत लेखमा साहित्य सर्वहारावर्गको साझा उद्देश्यको एक अंग बन्नु पर्दछ, यो सर्वहारावर्गको राजनैतिक पार्टीको पेच र दाँती बन्नुपर्दछ भन्दै लेखकिय प्रतिबद्धता प्रति जोड दिनु भएको छ भने अर्कोतर्फ स्वतन्त्र साहित्य समाजवादी समाजमा नै रचिन्छ; साहित्यमा यान्त्रिक समीकरण, समतलन, अल्पमत माथि बहुमतको प्रभुत्व सवैभन्दा कम संभव छ भन्दै स्वतन्त्रताका पक्षमा पनि लेनिन दृढतापूर्वक उभिनु भएको छ । त्यस्तै गरी माओले पनि हाम्रो कला साहित्य सवैभन्दा पहिले क्रान्तिको नेतृत्व गर्ने मजदूर र किसान वर्गको लागि हो भन्दै प्रतिबद्धता सम्बन्धी धारणा स्पष्ट पार्नुभएको छ भने “सयौं फूलहरू पmुल्न देऊ” भन्ने नीति प्रतिपादन गरेर स्वतन्त्रताको वकालत गर्नुभएको छ ।
३. माक्र्सवादी दृष्टिकोण अनुसार ‘स्वतन्त्रता र प्रतिबद्धता’ बिचको एकता अविभाज्य हुन्छ । वर्गीय समाजमा कला साहित्य पनि वर्गीय नै हुने भएकाले स्पष्टतः यसले प्रतिबद्धताको माग गर्दछ । स्वतन्त्रताले सदैव अभिव्यक्तिको स्वतन्त्रता, रचनात्मक स्वतन्त्रता एवं आवश्यकताको चेतनालाई इङ्गित गर्दछ । प्रतिवद्धता भन्नाले वर्गीय प्रतिवद्धता, विचारधारात्मक प्रतिबद्धता, राजनीतिक प्रतिबद्धता एवं सांगठनिक प्रतिबद्धता भनेर बुझ्नुपर्दछ । सारमा भन्नुपर्दा प्रतिबद्धताको अर्थ स्वतन्त्रता हरण होइन बरु व्यक्तिवादको दुनियाँवाट सामुहिकताको संसारमा पदार्पण गर्नु हो ।
४. माक्र्स एंगेल्सका अनुसार पूँजीवादले क्रान्तिबाट हासिल गरेको स्वतन्त्रताको स्थानमा निर्लज्जतापूर्ण स्वतन्त्रताको, मुक्त व्यापारको स्थापना गरेको छ र यसले कवि कलाकारलाई पनि आफ्नो वेतनभोगी मजदूर बनाइदिएको छ । लेखनलाई व्यावसाय बनाउनेहरू आन्तरिक र वाह्य दुवै स्वतन्त्रताबाट बञ्चित हुन्छन् । पूँजीवादी प्रजातन्त्रमा लेखक, कलाकार स्वतन्त्र हुनै सक्दैन, यथार्थमा ऊ व्यावसायवादमा फसेका हुन्छ ।
५. माक्र्सवादले लेखक कलाकारको कम्युनिष्ट सिद्धान्तप्रतिको प्रतिबद्धतामा विश्वास गर्दछ । लेखकले कामदार वर्गको हितका पक्षमा लेख्नुपर्दछ; सर्वहारा वर्गको पक्ष लिनु पर्दछ र शोषक वर्गको विरुद्ध निर्ममतापूर्वक उभिनु नै लेखक कलाकारको दायित्व हुनुपर्दछ । तर पार्टी कमिटीको निर्णयको परिधिभित्र मात्रै रहेर कला साहित्यको सिर्जना गर्ने काम भने हुन सक्दैन । यस्तो गर्न गराउन खोज्नु पनि गलत हुन सक्दछ । तर विद्यमान समाज शोषक र शोषित वर्गमा विभाजित भएको हुनाले अन्ततः साहित्य र कला पनि कुनै न कुनै वर्गको पक्षधरता लिन पुग्दछन् । दुवै वर्गलाई खुसी पार्ने, दुवैको एकैपटक हित रक्षा गर्ने त्यस्तो साहित्य कला संभव हुदैन । तसर्थ माक्र्सवादी लेखक कलाकार सर्वहारावर्गीय हित सम्वन्धी ‘प्रतिवद्धता’ भन्दा वाहिर जान हुँदैन ।
प्रगतिवाद र प्रगतिशीलताबारे
साहित्य र कलाका क्षेत्रमा प्रगतिवाद र प्रगतिशील शब्दहरू धेरैजसो अन्तरघुलित भएर आउँछन् । हरेक प्रगतिवादी कला साहित्य प्रगतिशील हुन्छ । तर हरेक प्रगतिशील कला साहित्य प्रगतिवादी नहुन सक्दछ । माक्र्सवादी सौन्दर्यशास्त्रलाई अङ्गीकार गर्ने, समाजवादी यथार्थवादलाई स्वीकार गर्ने अथवा द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिलाई आत्मसात् गर्ने कला साहित्य नै प्रगतिवादी हो । प्रगतिवादले वर्ग संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गरेको हुन्छ । अर्कोतर्फ यथास्थीतिको विरोध गर्ने, अग्रगामी परिवर्तन चाहने, तर माक्र्सवादलाई आत्मसात् गर्न नसकेको कला साहित्य नै प्रगतिशील कला साहित्य हो । प्रगतिशील कलाले धार्मिक अन्धविश्वास, जातपात, छुवाछुत, कुरीति, रुढीवाद एवं सवै प्रकारका कुसंस्कारको विरोध गर्दछ । यो सामन्तवाद, साम्राज्यवाद एवं विस्तरवाद विरोधी पनि हुन्छ । प्रगतिशील कला देशभक्त र जनवादी पनि हुन्छ । प्रगतिशील कला साहित्यले वर्तमानको कुरूप यथार्थको विरोध गरेपनि समाज परिवर्तनका लागि भविष्य दृष्टि भने नहुन सक्दछ । तसर्थ माक्र्सवादी कित्ताका कलाकार साहित्यकारहरू प्रगतिशील मात्र भएर पुग्दैन प्रगतिवादी नै हुनु पर्दछ ।
संस्कृति सम्वन्धी थप कुराहरू
१. माक्र्सवादी मान्यता अनुसार समाज विकासको ऐतिहासिक प्रक्रियालाई आदिम साम्यवादी समाज, दासप्रथात्मक समाज, सामन्तवादी समाज, पूँजीवादी समाज, समाजवादी समाज र साम्यवादी समाजका रूपमा प्रस्तुत गर्न सकिन्छ । यस्ता खालका समाजहरू मानव इतिहासमा उत्पादन सम्बन्धका फरकफरक रूपहरू हुन् । एकखालको उत्पादन पद्धतिले एक खालको समाज व्यवस्थाको प्रतिनिधित्व गर्दछ । उत्पादन पद्धति फेरिदै जाँदा समाजको आर्थिक आधार पनि बदलिदै जान्छ र अन्ततः यसले उपरिसंरचनामा पनि फेरवदलको माग गर्दछ । यसरी समाज व्यवस्था परिवर्तन हुदै जाँदा सो समाजको सांस्कृतिक मूल्यमान्यतामा पनि परिवर्तन हुन्छ ।
यसले के देखाउदछ भने दासयुगको संस्कृति आदिम साम्यवादी युगको संस्कृतिभन्दा भिन्न हुन्छ । सामन्तवादी संस्कृति भन्दा पूँजीवादी संस्कृति भिन्न हुन्छ । त्यसैगरी पूँजीवादी संस्कृति भन्दा समाजवादी एवं साम्यवादी संस्कृति पृथक रहन्छन् । दासयुगदेखि पूँजीवादी युगसम्मका संस्कृतिहरू सारमा शोषक वर्गका संस्कृतिहरू हुन् भने समाजवादी साम्यवादी संस्कृति उत्पीडित सर्वहारा वर्गले निर्माण गरेका संस्कृति हुन् जुन अघिल्ला संस्कृतिहरूको तुलनामा गुणात्मक रूपले नै भिन्न हुन्छन् । समाज व्यवस्था परिवर्तन हुदै जाँदा पुराना संस्कृतिहरूपूर्णतः लोप हुदैनन् र नयाँ समाजव्यवस्थामा पनि तिनका अवशेषहरू विद्यमान रहन्छन् ।
संस्कृतिको निर्माण सयौँ वर्षको दौरानमा हुन्छ र विलोप हुनका लागि पनि सयौँ वर्षको अवधि माग गर्दछ । आर्थिक राजनैतिक रूपमा समाजवादको निर्माण भइसकेपछि पनि पुरानो पूँजीवादी संस्कृति, पुरानो आनीवानी एवं पुरानो आदतको सत्ता नयाँ समाजवादी समाजमा पनि विद्यमान रहनुले समाजवादी समाजलाई पुन ः पूँजीवादी समाजतिर फर्काउने सम्भावना रहन्छ र यस्तो भएको देखियो पनि । यसै कारणले गर्दा लेनिन र माओले आर्थिक, राजनैतिक क्रान्ति सँगसँगै समाजवादी समाजमा पुरानो वुर्जुवा संस्कृतिका बिरुद्धमा सास्कृतिक क्रान्ति समेत सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ । सचेत प्रयत्न र सचेत धक्काको माध्यमबाट सांस्कृतिक रूपान्तरणको गतिलाई तीव्रता दिन सकिन्छ भन्ने माक्र्सवादी मान्यता हो ।
२. संसारका सबै ठाउँहरूमा समाज व्यवस्थाको विकास एकैनासले भएन । विसौँ शताब्दीको प्रारम्भतिरवाट पूँजीवादले साम्राज्यवादी स्वरूप धारण गर्न पुग्यो । साम्राज्यवादी हस्तक्षेपका कारणले खासगरी एशियाली अफ्रिकी एवं ल्याटिन अमेरिकी समाजका अधिकांश भागहरूमा अर्धऔपनिवेशिक एवं अर्धसामन्ती समाज व्यवस्थाको जन्म हुन पुग्यो । फलस्वरूप अर्ध औपनिवेशिक, अर्धसामन्ती संस्कृति तथा साम्राज्यवादी संस्कृतिका नयाँ नयाँ रूपहरू देखा परे । सामन्तवादी संस्कृतिले सामन्त जमिन्दार, राजा, महाराजा, पुरोहित, ठूलाठूला साहु महाजनहरूलाई समाजमा हैकम स्थापित गर्न सघाएको छ । यसले समाजलाई भग्यवादमा डुवाएको छ । स्वर्ग, नरक, परलोक, पुर्नजन्म, आदिको दुष्चक्रमा सोझा जनतालाई फसाएर राखेको छ । यसले नारी समुदायमाथि पितृसत्तात्मक उत्पीडन थोपरेकोे छ । समाज व्यवस्थालाई वर्ण व्यवस्था र जातपातमा आधारित बनाएको छ । सामन्तवादी सस्ंकृतिका यही अवशेषका कारणले नेपाली समाजमा नारी समुदाय र दलित समुदाय आजसम्म पनि प्रताडित बन्न विवश छन् । स्तुतीवाद, भक्तिबाद, चाकडीवाद, अभिजात्यवादका प्रवृतिहरू पनि सामन्ती संस्कृतिकै उपजहरू हुन् ।
३. साम्राज्यवादी संस्कृति पूँजीपतिवर्गको एकाधिकारवादी अर्थतन्त्र फाँसीवादी राजनीति एवं अधिभूतवादी विश्वदृष्टिकोणमा आधारित छ । आज यो साम्राज्यवादी भूमण्डलीकरणको रूपमा संसारभरी प्रभुत्व जमाइरहेको छ । साम्राज्यवादी संस्कृतिले शक्तिराष्ट्रहरूको भाषासंस्कृतिलाई श्रेष्ठ ठान्ने र अरु उत्पीडित राष्ट्रका भाषा संस्कृतिलाई हेयका दृष्टिले हेर्ने मनोविज्ञान खडा गरेको छ । साम्राज्यवादले उत्पीडित राष्ट्रका जनतामा सूचना र प्रविधिको माध्यमवाट आफ्नो संकृतिलाई त्याग्न लगाई साम्राज्यवादी संस्कृति अपनाउन प्रेरित गरिरहेको छ । आर्थिक र सैन्य हस्तक्षेपका साथसाथै संसारभरका उत्पीडित राष्ट्रहरूमाथि साम्राज्यवादले सांस्कृतिक हस्तक्षेपलाई झनै तीब्र बनाएको छ । साम्राज्यवादले विज्ञान र प्रविधिको प्रयोग गरेर पतनोन्मुख छाडा संस्कृति, यौनअराजकता, अन्धविश्वास, रुढीवाद र विलासिताको धुमधाम प्रचार गरिरहेको छ । यसरी व्यापक रूपमा फैलाइएको साम्राज्यवादी संस्कृतिको प्रभावमा परेर श्रमजीवि सर्वहारा वर्गले आफ्नो मुक्तिसंघर्षलाई अघि बढाउन नसकिरहेको यथार्थ छर्लङ्ग नै छ ।
५. अबको आवश्यकता भनेको जनवादी एवं समाजवादी संस्कृतिको निर्माण हो । सामन्तवादी एवं साम्राज्यवादी संस्कृतिसँग निर्मम सङ्घर्ष गरी त्यसलाई समुल नस्ट गरेर मात्र त्यस्तो नवीन संस्कृतिको निर्माण गर्न सकिन्छ । धार्मिक सहिष्णुता, श्रमप्रति आस्था, नारीप्रति सम्मान, छुवाछुतविरोधी भावना, रुढीवाद र अन्धविश्वासको विरोध जस्ता प्रगतिशील परम्परालाई आत्मसाथ गरेर जनवादी संस्कृतिको निर्माण हुन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिलाई साम्राज्यवादले आफ्नो सेवामा लगाइरहेको छ । अत्याधुनिक फिल्म प्रविधि एवं सञ्चारका साधनहरू प्रयोग गरेर साम्राज्यवादले अन्धविश्वास, भूतप्रेतका कथाहरू, धार्मिक सिरियलहरू, नारी शरीरको नग्नताको व्यापार, उपभोक्तावाद, आदि फैलाइरहेको छ । यी सवै कुराहरूको विरुद्धमा संघर्ष गरेर मात्र जनवादी संस्कृतिको निर्माण हुन सक्दछ ।
व्यक्तिवादको विरोध र सामुहिकतावादी भावनाको विकास गर्नु, आम जनतामा माक्र्सवादी विचारधाराको प्रचार कार्यलाई तीव्र पार्नु, अन्यायको विरोध र सत्यको पक्षमा दृढतापूर्वक उभिनु, जनवादी एवं समाजवादी चिन्तनले युक्त कला साहित्यको व्यापक प्रचार गर्नु आदिकार्यबाट समाजवादी संस्कृतिको निर्माणको आधारभूमि तयार हुन्छ । साम्राज्यवाद ÷पूँजीवादले ध्वंशको संस्कृति निर्माण गर्दछ भने समाजवादले सिर्जनाको संस्कृति निर्माण गर्दछ । पूँजीवादले बौलट्ठी पूर्ण तरिकाले प्रकृतिको उपयोग गर्दछ र आफ्नो एकमात्र स्वार्थ मुनाफाको लागि प्रकृतिलाई नष्टभ्रष्ट पार्दछ । समाजवाद मानव कल्याणको व्यवस्था भएकोले प्राकृतिक श्रोतसम्पदाको समुचित प्रयोग गर्दै प्रकृति संरक्षणको नयाँ संस्कृति जन्माउँदछ । विज्ञान र प्रविधिलाई मानवीय बिनास र अरूको संहारका लागि प्रयोग गर्ने होईन कि समग्र मानवजातिकै हितमा प्रयोग गरिनु समाजवादी संस्कृतिको अभिन्न अङ्ग हो । सारमा भन्दा ‘म’ को सट्टा ‘हामी’ भन्ने भावनाले अनुप्राणित हुने संस्कृति नै समाजवादी संस्कृति हो ।
निष्कर्ष
१.माक्र्सवादी दर्शन समाज परिवर्तनको दर्शन भएकोले यसले साहित्य र कलालाई समाज परिवर्तनको औजारको रूपमा बुझ्दछ र पतनशील बुर्जुवा संस्कृतिको ठाउँमा जनवादी एवं समाजवादी संस्कृतिको स्थापनामा जोड दिन्छ । वुर्जुवाहरूले कला साहित्यलाई नग्नता, छाडापन, कुण्ठा, अहं र चरम व्यक्तिवादको क्रिडास्थल बनाउदछन् भने माक्र्सवादले उत्पीडित वर्गको सामुहिक हितमा प्रतिबद्धताको माग गर्दछ । माक्र्सवादले अतीतका सम्पूर्ण कला साहित्यको निषेध गर्दैन बरु यसले हरेक साहित्य र कलाकृतिलाई ऐतिहासिक विकासको सन्दर्भमा राखेर मुल्याङ्कन गर्दछ र तिनले तात्कालीन अवस्थामा समाजको अग्रगामी परिवर्तनमा खेलेको सकारात्मक भूमिकालाई सराहाना पनि गर्दछ ।
लेनिनको भनाइ अनुसार “माक्र्सवादले पूँजीवादी युगका अमूल्य उपलब्धिहरूको बहिष्कार गर्नुको सट्टा दुई हजार वर्षभन्दा लामो मानव विचारधारा र संस्कृतिको बिकासको दौरानमा जे जति अमूल्य उपलब्धिहरू भए ती सब कुराहरू स्वीकार ग¥यो र यिनलाई परिस्कृत तुल्यायो ।” माक्र्सवादले मानवीय श्रम प्रक्रियालाई नै सम्पूर्ण कला साहित्य र संस्कृतिको एकमात्र श्रोत ठानेको छ । श्रमको प्रकृयामा नै मानिसहरूले सौन्दर्यको अनूभूति गर्न सिक्दछन् र यही सौन्दर्यको अनुभूतिवाट नै साहित्य र कलाको सिर्जना हुन्छ । वर्ग विभाजित समाजमा कलाको वर्गीय र पक्षधर चरित्र हुन्छ ।
“कला कलाको लागि” भन्ने धारणा त्रुटिपूर्ण छ र बुर्जुवा पक्षधरहरूले भन्ने गरेको “कला र साहित्य वर्गभन्दा माथि हुन्छ” भन्ने धारण भ्रान्तिपूर्ण छ । वर्तमान समयको बुर्जुवा कला साहित्यले प्रतिक्रियावादी साम्राज्यवादी शक्तिहरूको सेवा गर्दछ । यसले शोषकहरूको विरुद्ध संघर्ष गराउनुको सट्टा श्रमीकहरूको ध्यान अन्यत्र मोड्न खोज्दछ र मानिसहरूमा अनैतिक आचरण फैलाउछ । बुर्जुवा कला साहित्य भनेको पूँजीवादी परिपाटीको प्रशंसा गर्ने र समाजवाद एवं साम्यवादी आन्दोलनको बदनाम गर्ने एउटा मुख्य साधन हो । वुर्जुवा कला साहित्यमा पनि कतैकतै यथार्थवादको अंश भेटाउन सकिन्छ; अन्याय र अत्याचारको विरोध गरेको पनि देखिन्छ तर अन्त्यमा त्यसलाई कि त वर्ग समन्वयमा लगेर टुङ्ग्याइएको हुन्छ कि त कुनै एउटा ‘वीर’ नायक खडा गरेर उसकै वीरताको आडमा पीडितलाई न्याय दिलाएको देखाइन्छ र यसरी आम उत्पीडित जनताको समुहिक संघर्षलाई अवमूल्यन गरी एउटा ‘वीर’ खडा गर्ने वीर पूजाको संस्कृतिले अन्ततः उत्पीडक वर्गकै सेवा गरिहेको हुन्छ ।
२. समाजवादको निम्ति श्रमजीवि वर्गको क्रान्तीकारी संघर्षको दौरानमा नै नयाँ समाजवादी कला साहित्यको सिर्जना हुन्छ । अतीतका प्रगतिशील कला साहित्यवाट सवै उत्कृष्ट कुराहरूलाई ग्रहण गरेर यसले आफूलाई विकसित तुल्याउँछ । समाजवादी यथार्थवाद नै यस्तो कला साहित्यको रचनात्मक पद्धति हो । समाजवादी यथार्थवादमा आधारित कला साहित्य एउटै ठाउँमा मात्र उभिएको हँुदैन; यो निरन्तर गतिशील हुन्छ, विकसित र सम्पन्न हुदै जान्छ । यसले समाजवाद हुदै साम्यवादतिर समाजको प्रगतिलाई दिशा निर्देश गर्दछ ।सत्यता र गहनता, स्वतन्त्रता र पक्षधरता, जीवनको कलात्मक चित्रणमा साहसिलो नौलोपन समाजवादी यथार्थवादमा आधारित कलाका मूल सिद्धान्त हुन् ।
समाजवादी कला साहित्यले जनतासित जनताको श्रम र जीवनसित घनिष्ट सम्वन्ध राखेको हुन्छ । समाजवादी कलाका सम्वन्धमा लेनिनले भन्नु भएको छ “कला जनताको सम्पत्ति हो । व्यापक श्रमिक जनसमुदायहरूको भित्रै सम्म त्यसका गहिरा जराहरू गाडिएको हुनुपर्दछ । त्यस्तो कला जनसमुदायको लागि बोधगम्य हुनुपर्दछ । कलाले जनसमुदायको भावना, इच्छा र आकांक्षा लाई एकजुट पार्नुपर्दछ र उनीहरूमा जागरण ल्याउनुपर्दछ ।” सारमा भन्दा मानव जातिलाई अतीतका पश्चगामी चेतनाका अवशेषहरूबाट मुक्त गर्दै समाजवाद एवं साम्यवादतर्फको यात्रामा सङ्घर्ष गर्न श्रमजीवि जनतालाई अग्रसर तुल्याउनु नै माक्र्सवादी कला साहित्यको सर्वोच्च लक्ष्य हो ।
३. समाज विकासको क्रममा मानव समुदायले आफ्नो संस्कृतिको निर्माण गर्दछन् । संस्कृतिले मानव समुदायको सोच्ने तरिका, जीवन जिउने तरिकालाई संकेत गर्दछ । समाजमा जतिजति छिटो आर्थिक र राजनैतिक व्यवस्थामा परिवर्तन हुन्छ, त्यति त्यति छिटै र सजिलै सास्कृतिक रूपान्तरण हुँदैन । संस्कृति निर्माण हुन पनि लामो समय लाग्दछ र परिवर्तन हुन पनि लामै समय लाग्दछ । नयाँ खालको राजनैतिक व्यवस्था र पुरानो खालको संस्कृतिको बिचमा चल्ने अन्तरविरोधले प्रतिगमनलाई निम्त्याउन सक्दछ । तसर्थ संस्कृतिको मामिलालाई ठिक ढंगले हल गरिनुपर्दछ ।
आज साम्राज्यवादले आफ्नो संस्कृतिलाई सर्वत्र फैलाइरहेको छ । फिल्म, टेलिभिजन, रेडियो, पत्रपत्रिका एवं सामाजिक सञ्जालका आधुनिक रूपहरूको सहायताबाट साम्राज्यवादी संस्कृति हरेक घरघरमा, हरेक बच्चाबच्चाको दिमागमा प्रवेश गरेको छ । साम्राज्यवादी संस्कृतिको यो बाढीलाई रोक्न नसक्ने हो भने यसले हरेक राष्ट्रका मौलिक कला संस्कृतिलाई ध्वस्त पार्नुका साथसाथै जनवादी समाजवादी संस्कृतिको जग सजिलै बस्न दिनेछैन । आजको कम्युनिष्ट आन्दोलन अथवा माक्र्सवादी आन्दोलन यसप्रति पूर्ण सचेत हुनु आवश्यक छ । तर जतिसुकै हिंस्रक र आक्रामक देखिए पनि साम्राज्यवादी संस्कृति अजर अमर भने छैन । पूँजीवादी÷साम्राज्यवादी संस्कृति पनि संकटग्रस्त छ र यसको अन्त्य पनि अवश्यंभावी छ ।
साम्राज्यवादी संस्कृतिका विरुद्ध संघर्ष गर्नुका साथै परम्परादेखि चल्दै आएका सांस्कृतिक परम्पराहरूको पनि जनवादीकरण गर्नु आवश्यक भैसकेको छ । चार्डपर्वहरू मनाउदा सामन्तवादी मूल्यमान्यताहरू सुधार गर्नु, जातीय विभेद र छुवाछुतको अन्त्य गर्नु, जन्म, मृत्यु, विवाहजस्ता संस्कारलाई नयाँ मान्यताको आधारमा रूपान्तरित गर्नु धामी, झाँक्री, बोक्सी, झारफुक जस्ता अन्धविश्वासमा आधारित मान्यताको विरोधमा बैज्ञानिक चेतनाको प्रचारप्रसार गर्नु, महिलाप्रति हुने पुरुषप्रधान हिंसाको अन्त्य गर्नु, आम श्रमीकवर्गप्रति सम्मानको भावना पैदा गर्नु, समाजमा ठूलो, सानोको विभेद हटाई सार्वजनिक समारोहमा समानतापूर्ण व्यवहार अघि बढाउनु, समान कामको निम्ति महिलालाई पनि पुरुष सरह नै ज्याला दिनु, ठूलाको चाकरी गर्ने र सानालाई हेप्ने प्रथाको अन्त्य गर्नु, जनवादी विचार वोकेका गीत संगीत र फिल्मको निर्माण गर्ने, विद्यालय पाठ्यक्रममा नयाँ सांस्कृतिक मुल्यका विषयहरूसमावेश गर्ने जस्ता परिवर्तनहरूअव आवश्यक भइसकेका छन् ।
नयाँ सांस्कृतिक मूल्यलाई आत्मसाथ गर्दै सांस्कृतिक रूपान्तरणलाई तीब्रतापूर्वक अघि बढाउनु अपरिहार्य भैसकेको छ । व्यक्तिवादको दुनियाँबाट सामूहिकताको संसारमा प्रवेश गरी अतीतका मक्किएका परम्पराहरूबाट मुक्त हुँदै नयाँ जीवनमूल्यको सृष्टि गर्नु अबको टड्कारो आवश्यकता हो । संक्षेपमा भन्नुपर्दा पुराना सांस्कृतिक मूल्यहरूको विघटन र नयाँ सांस्कृतिक मूल्यहरूको सङ्ंघटन नै संस्कृति सम्वन्धी माक्र्सवादी मान्यताको सार हो ।
सन्दर्भ सामाग्रीहरू
१. दर्शनशास्त्रको प्रारम्भिक ज्ञान— भिक्टर आफानास्येभ
२. वैज्ञानिक साम्यवादको प्रारम्भिक ज्ञान— भिक्टर आफानास्येभ
३. नेपाली समाज र संस्कृति ः एक अध्ययन— चैतन्य
४. माक्र्सवादी कलादृष्टि र समीक्षा— चैतन्य
५. पार्टी संगठन र पार्टी साहित्य— लेनिन
६. एनान गोष्ठिमा साहित्य र कलावारे प्रवचन— माओत्सेतुङ्ग
७. सौन्दर्य शास्त्रको आँखिझ्याल— घनश्याम ढकाल
८. साहित्य तथा कला— माक्र्स एंगेल्स (अनु. राजेन्द्र मास्के
९. उत्तरआधुनिकतावाद र समकालीन यथार्थ— डा. ऋषिराज बराल
१०. नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनैतिक प्रतिवेदन(२०७५)
(पाल्पा)