ऊ आयो र नानीहरूबाट खोसेर निर्जीव ढुङ्गामा दुध घोप्ट्यायो ! ऊ फेरि आयो र श्रमिकहरूको गोजी काटेर श्रीपेजजस्तो सुनको गजुर लगायो ! ऊ पुन: आयो र भक्तहरूलाई लठ्याएर बारजस्तो अनुष्ठानमा अहिल्या नचायो ! °°°°° बढो गजबको छ उसको त सोखको परिपाटी पनि ! चैतन्य दियो निभाएर ऊ विज्ञानको अस्तु सेलाउँछ गरीबलाई मन्दिर पठाएर ऊ सम्भ्रान्तहरूसँगै जुवाखाल छिर्छ यु्ध्दको शङ्खनाद गरेर ऊ सेडिज्मको लम्बेतान कहानी पढ्छ र मनलाई खण्डित पारेर ऊ पृथ्वीमा घृणाको कारखाना चलाउँछ ! °°°°° ऊ कहाँ छ नियालेर हेर्नुस् त, कहाँ छैन र ? आस्थाको टुँडालमा बसेर ऊ प्रोनोग्राफी पोज दिइरहेको हुन्छ मोक्षको खास्टो भनेर ऊ पाखण्डताको जाल बुनिरहेको हुन्छ यो जन्ममा निराशा बेचेर ऊ परजन्मको आशाको सौदामा व्यस्त हुन्छ र दिनभरि चमर हल्लाएर ऊ रातभरि देउकीको चुल्ठी बाटिरहेको हुन्छ ! °°°°° उसको चङ्गुलबाट पशु-पंक्षीहरू जोगिएका छन् उसको अस्तित्वलाई वनस्पतिहरू निषेध गरिरहेछन् सायद, यसैले मान्छेजस्तो निरीह र दुखी छैनन् ! थाहा छैन मलाई कुन छिद्रबाट सुटुक्क छिर्यो ऊ र विषालु अस्त्र बनेर ध्वस्त पारिरहेछ - मान्छेहरूको प्रेमिल संसार ? °°°°° यतिखेर, भयको राँको सल्काएर ऊ गाँजाको धुवाँ ओढी निदाएको छ ! °°°°° मन्दिर, मस्जिद, गुम्बा र चर्च देखाएर सुटुक्क पस्छ मस्तिष्कभित्र र कुटुकुटु खाइरहन्छ हरेक दिन विचारको कलिलो मुटु ! ऊ ईश्वर हो ! धर्तीको सबभन्दा ठूलो भ्रम ऊ कहिँ नभएर पनि सबैतिर छ ! मान्छेले ईश्वर नजन्माएको भए यो आकाशमा उदाउने इन्द्रेणीको रङ कस्तो हुन्थ्यो होला ? ******