अनिल श्रेष्ठ क्रान्तिचेत बोकेर उदाएका कवि हुन् । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा जन्मिएर आँबुखैरेनीलाई नै आफ्नोे कर्मथलो बनाएका अनिल श्रेष्ठले आँबुखैरेनीलाई नै साहित्यको सिर्जनथलो पनि बनाएका छन् । बि. ए. सम्मको अध्ययन रहेको उनको लेखनकर्म भने विद्यालय पढ्दादेखि सुरु भएको हो ।
लगभग पचासको दशकको पूर्वाद्धदेखि नै विभिन्न पत्रपत्रिकामा उनका कविता, निबन्ध र कथा सार्वजनिक हुन थालेका हुन् । त्यसयता सिर्जनामा निरन्तर देखा परिरहेका अनिल श्रेष्ठ साहित्यका एक उर्जाशील साधक हुन् । उनका आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् ।
खासगरी उनको लेखन वैशिष्ट्य कवितामा रहेको हुँदा उनका कथा र निबन्धमा पनि काव्यात्मक शैलीको प्रभाव पाइन्छ । देशमा विद्यमान सामाजिक÷सांस्कृतिक विकृति र विसङ्गति, सामाजिक विभेद र उत्पीडन अनि तिनीहरूको पक्षपोषक बनेको फासीवादी निरङ्कुश चरित्र बोकेको राज्यव्यवस्था विरुद्धको चेतनालाई सशक्त आवाज दिने श्रेष्ठ प्रगतिवादी साहित्यको क्षेत्रमा एक स्थापित नाम हुन् ।
हाम्रो समाजमा जे जस्ता घटनाहरू घट्छन् वा घटिरहेका हुन्छन् त्यसको सामाजिक अन्तरवस्तुलाई पहिल्याएर कथावस्तु लिनु र त्यसलाई कथामा उन्नु उनको विशिष्ट सिर्जनात्मक क्षमता रहेको छ । त्यसैले उनलाई सामाजिक यथार्थवादी कथाकारको रुपमा उभ्याउन सकिन्छ । लेखन कलालाई स्वान्त सुखायका रुपमा नभएर समाज परिवर्तनको एउटा माध्यम सम्झने श्रेष्ठका सबै रचनाहरू उद्देश्यपरक रहेका छन् ।
अनिल श्रेष्ठको ‘प्रजातन्त्र र पागल’ कथासङ्ग्रह २०५० सालमै प्रकाशनमा आएको हो । यो कथासङ्ग्रहलाई परिमार्जित सहित केही कथाहरू थप गरी श्रेष्ठले २०७५ सालमा दोस्रोपटक प्रकाशनमा ल्याएका हुन् । मूलतः २०४६ साल वरपरको नेपाली राजनीतिक, सामाजिक अवस्था र त्यसबाट सिर्जित घटना सन्दर्भहरूलाई विषयवस्तु बनाएर लेखिएका कथाहरूको सङ्ग्रह हो ‘प्रजातन्त्र र पागल ।’
वि. स.ं १९०३ देखि २००७ सालसम्मको १०४ वर्षे जहानियाँ राणा शासनले निसासिएका जनताका लागि २००७ सालमा आएको प्रजातन्त्र र २०१७ सालमा आएको पञ्चायती व्यवस्थाले जनताका लागि कुनै सार्थक समाज परिवर्तनको रूपरेखा कोर्न सकेन । पञ्चायती व्यवस्थाले तीस वर्षसम्म झनै उल्टै राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइरह्यो । जसको फलस्वरुप नेपाली जनताले राजाको एकतन्त्रीय शासनको अन्त्यको लागि पहिलो जनान्दोलन गर्न पुग्यो । २०४६ सालको जन आन्दोलनले पञ्चायती व्यवस्था हटाएर बहुदलीय शासन व्यवस्था स्थापना ग¥यो । तर बहुदलीय व्यवस्थाले पनि राजनीतिक विकृति, विसङ्गति र विभेदको अन्त्य गर्न सकेन । भ्रष्टाचार मौलाउँदै गयो ।
२०५२ साल फागुन १ गतेदेखि नेकपा माओवादीले सुरु गरेको शसस्त्र जनयुद्धले सामन्तवादको जरा हल्लाउँदै गएपछि त्यसकै आडमा भएको २०६२÷२०६३ सालको दोस्रो जनआन्दोलनले सामन्तवादको मियोको रूपमा रहेको राजतन्त्रकै अन्त्य गरी गणतन्त्रको स्थापना गर्न पुग्यो । जसले गणतन्त्र ल्याउन अहम भूमिका खेल्यो, तिनै नेकपा माओवादी पार्टीले पनि अन्ततः कुनै परिवर्तन गर्न सकेको देखिएन । गणतन्त्रको स्थापना भई आन्दोलनबाट आएका नेताहरू नै सत्तामा पुग्दा समेत सत्ताको चरित्रमा कुनै सकारात्मक नयाँ परिवर्तन आउन सकेन । गणतन्त्रवादीहरूको चरित्र पनि पुरानै सत्तासँग मेल खान पुग्यो ।
‘एउटा जीवनको अन्त्य’ पञ्चायती शासकहरूको दमनको उत्कर्षको कथा हो । हुन त कथा २०४८ सालतिर लेखिए पनि कथाले पञ्चायती व्यवस्थाका हिमायतीहरू र त्यसका लठैतहरूले निर्दोष जनतामाथि गरेको दमन र उत्पीडनलाई उजागर गरेको छ । कथा पञ्चायतको परिवेशमा लेखिएको भए पनि आजको समय परिवेशसँग पनि कथाले उत्तिकै मेल खाएको छ । कथा समसामयिक बनेको छ । ‘प्रजातन्त्र र पागल’ कथासङ्ग्रहभित्र रहेको १५ वटा कथाहरूमध्ये ‘एउटा जीवनको अन्त्य’ छैटौ क्रममा रहेको कथा हो ।
कथावस्तु
यस छोटो समीक्ष्य लेखमा कथा सङ्ग्रहभित्र रहेको ‘एउटा जीवनको अन्त्य’ कथाको चर्चा गर्न खोजिएको छ । कथा कथा नभई वास्तविक जीवन भोगाइ बनेको छ । कथामा गोरखा जिल्लाका भोगटेनी, लुधिखोला, मिरकोट र दरौंदी नदी आदि स्थानीय ठाउँहरूको परिवेशलाई उल्लेख गरिएको छ ।
नेपालको ग्रामीण परिवेशमा रहेका मानिसहरू खान लाउन नपुगेपछि रोजगारीको लागि भारतका विभिन्न ठाउँमा पुगेर दरवान, कुल्ली र पल्टनमा जागिर खाने अवस्था थियो र अझै पनि छ । बुद्धि बहादुर परियार जसको बोलाउने नाम बुधे हो, यस कथाको ऊ प्रमुख पात्र पनि हो । बुधेको हजुरबा रोजगारीको लागि भारतको पल्टनमा छिरेपछि उनले आफ्नो उमेर र जीवन नै उतै बिताए । हजुरबा र हजुरआमाको मृत्युपछि भारतमा आप्रवासी जीवन बिताइरहेका बुधेका बाबुले गाउँ सम्झिएर आफ्नो परिवारसँगै नेपाल फर्किए । तर गाउँ पुग्दा उनीहरूका जायजेथा सबै हराइसकेको थियो । यस्ता घटना नेपालका पहाडी गाउँहरूमा एउटा नियति नै बनेको थियो । कामको खोजीमा मुग्लान पस्नेहरू होस् या बर्मा, सिक्किम, दार्जिलिङ र भुटानतिर काम खोज्न गएकाहरू होउन्, ढुण्डिराज भट्टराईजस्ता गाउँका फटाहाहरूले अनेक जाली तमसुकहरू बनाएर निमुखाका गाउँका जग्गाहरू आफ्नो नाउँमा बनाउँथे । ढुण्डिराज त यहाँ एउटा प्रतिनिधि पात्र मात्रै हो तर यस्ता ढुण्डिराजहरू नेपालका गाउँहरूमा अझै छन् । राजनीतिक परिवेश अनुसार छेपारोले रूप फेरे झैं राजनीतिक दल परिवर्तन गर्ने मानिसहरू धेरै छन् । सिद्धान्त र विचार नभई अवसर र मौका छोप्ने यस्ता व्यक्तिहरूको नै हिजो पनि र आज पनि बोलवाला रहेको छ ।
बुधे जस्ता प्रगतिवादी विचार भएका मानिसहरूलाई ढुण्डिराजजस्ता अवसरवादीहरूले झुट्टा मुद्धा लगाएर जेल हाल्ने परम्परा राणाकाल, पञ्चायती शासनमा मात्र नभई आजपनि ज्युँका त्युँ रहेको छ । ढुण्डिराज भट्टराई पञ्चायतीकालमा असली प्रधानपञ्च थियो । बहुदल आएपछि ऊ झनै असली राजनीतिक दलको नेता हुन पुग्योे र गाविस अध्यक्ष समेत बन्यो । उसले गाउँमा जे भन्यो त्यही हुन्थ्यो ।
राजनीतिक दलका कार्यकर्ताहरू उसकै घरमा मिठो मसिनो खान पाउने भएकोले उसकै आसेपासे बन्नपुगे । गाउँमा फेरि ढुण्डिराजकै हाली मुहाली थियो र कार्यकर्ताहरू उनका भरौटे थिए । आज पनि गाउँको यथार्थ स्थिति यही छ । जुन व्यवस्था आएपनि राज्य व्यवस्थामा मानिसहरू उही छन् । फटाहाकै राज छ । संस्कार, रीतिरिवाज र परम्परालाई परिवर्तन गर्न सकेको अवस्था छैन ।
बुधेले गाउँका आफ्नो उमेरका साथीहरूलाई सङ्गठीत गरेर राजनीति सिकाउँदैछ भन्ने कुरा ढुण्डिराजको अरौटेहरूले उसको कानमा पु¥यायो । ढुण्डिराजलाई के खोज्छस् कानो आँखा भनेझैं भयो । ढुण्डिराजले गाउँको विद्यालय बनाउन आएका सिमेन्ट गायब बनायो । विद्यालयको सामान लुकाएको विरोध बुधेले ग¥यो ।
यो कुरा ढुण्डिराजलाई सह्य भएन । एकदिन रातिको समय बुधे पल्लो गाउँबाट घर फर्कदै थिए । ढुण्डिराजकै मान्छेहरूले रातको त्यो निस्पट्ट अँध्यारोमा मान्छे मारेर बुधेको अघिल्तिर फालिदिए । र बुधेले मान्छे मारेको भनेर होहल्ला गर्दै घेरे । बुधे रनभुल्लमा प¥यो । प्रहरीले बुधेलाई गिरफ्तार ग¥यो । मान्छे मारेको झुट्टा अभियोगमा अदालतले बुधेलाई दश वर्ष जेल सजाय तोक्यो । जेल चलान भएको केही वर्षपछि गाउँमा ढुण्डिराजका भरौटेहरूले बुधे मरिसकेको हल्ला चलायो । सहरमा पुगेर बुधेको खोजखबर गर्ने कसैको साहस भएन । केही समयपछि ढुण्डिराजका भरौटेहरूले बुधेकी स्वास्नी र छोरीको पनि बलात्कार गरेर हत्या गरे । दशवर्षपछि जेलबाट छुटेर आएको बुधे जब गाउँमा परिवार भेट्न पुग्छ, गाउँमा भेट भएका मास्टर बाबुले गाउँको सबै वृतान्त बुधेलाई बताउँछ । आफ्नी छोरी र स्वास्नीको हत्या भएको सुनेपछि बुधे मर्माहत बन्छ ।
पत्नी र छोरीको मृत्युको पीडा र आक्रोशले विक्षिप्तजस्तै बनेको बुधे ढुण्डिराजको घर गई ढुण्डिराजको हत्या गर्दछ र आफू स्वयम पनि आत्महत्या गर्दछ । बुधे पञ्चायत विरोधी गतिविधि र हत्याको आरोपमा जेल पर्दा पञ्चायती शासन थियो भने ऊ जेलबाट निस्कँदा बहुदल आइसकेको थियो । ढुण्डिराज पञ्चायती पालामा प्रधानपञ्च थियो । बहुदल आइसके पछि पनि राजनीतिक दलको टिकट लिएर उनै ढुण्डिराज गाविसको अध्यक्ष बनेको थियो । पञ्चायती कालमा प्रधानपञ्च छँदा गाउँलेलाई जसरी दुःख दिन्थ्यो, गाविसको अध्यक्ष भए पछि पनि गाउँलेलाई उस्तै दुःखदिने र जिल्लाका हाकिमहरूको उसैगरी चाकरी गर्ने गरेको थियो । पञ्चायती व्यवस्थाको अन्त भएर बहुदल आए पनि शासकीय प्रवृत्ति र शैलीमा कुनै परिवर्तन नआएको यथार्थ कथामा रहेको छ । गरिब, निमुखा र सोझा व्यक्तिहरूलाई बहुदल आए पनि उस्तै पीडा, दुःख र अन्याय हुने गरेको यथार्थलाई कथामा देखाइएको छ ।
कथाकार अनिल श्रेष्ठले समाजमा घट्ने र घटेका घटनाहरूभन्दा पर गएर कथा लेखेका छैनन् । कथाको विषयवस्तु र परिवेश हेर्दा यथार्थ विषयवस्तु नै टपक्क टिपेर कथामा उनिदिएका छन् । कथा पढ्दै जाँदा कतै पनि काल्पनिक र अयथार्थ देखिँदैन । कथामा दर्शन र नाराका कुनै शब्दहरूको प्रयोग नगरीकन पनि कथाकारले ग्रामीण वर्ग सङ्घर्षलाई राम्रोसँग प्रस्तुत गरेका छन् । कथा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको सुरुमा लेखिए पनि २०६३ सालको जनआन्दोलनले ल्याएको लोकतन्त्र र गणतन्त्रपछिको नेपाली जनताको दैनिक अवस्था र उनीहरूले झेलिरहेका पीडादायक दैनिकी देख्दा कथामा कथाकारले देशको विगत, वर्तमान र आगतलाई राम्रोसँग उतारेको देखिन्छ ।
कथाको शीर्षक र विषयवस्तु बीच तादात्म्य सम्बन्ध रहेको छ । कथाको परिवेश हेर्दा कथाकार श्रेष्ठ तनहुँको आँबुखैरेनीमा रहेका र कथाको परिवेश तनहुँ जिल्लाकै छेउमा रहेको गोरखा र तनहुँकै साँध सिमानामा रहेको भोगटेनी, देउराली, लुधिखोला, मिरकोट, दरौदी नदी र यसको छेउछाउको गाउँहरू रहेकोले ठाउँ परिवेशले पनि जीवन्तता पाएको छ । कथामा प्रयोग गरिएको भाषा र विषयवस्तु सरल भएकोले सामान्य पाठकले पनि कथा सजिलैसँग बुझ्न सक्ने रहेको छ । कथामा प्रयोग भएका पात्रहरू बुधे, ढुण्डिराज, मास्टर आदिले गाउँको चरित्र चित्रण गरेको छ । कथामा थोरै पात्रहरू भएकोले पनि पाठकहरूलाई पात्र विशेषहरूमाथि अल्मलिरहनु पर्दैन ।
कथामा बुधे जेलबाट छुटेर गाउँ आएपछि मास्टर बाबुसँगको भेटमा आफ्नो परिवारको यथार्थ स्थिति बुझ्छ र पीडाले विक्षिप्त भएर ढुण्डिराजको हत्या गर्न पुग्छ र आफू पनि आत्महत्या गर्छ । कथाको अन्त्य एउटा असामञ्जस्यमा टुङ्गिन्छ । यहाँनिर कथाकार श्रेष्ठले अल्मलिएर कथालाई हतारले टुङ्ग्याएको देखिन्छ । वैचारिक चेतना बोकेको मूख्य चरित्रले आत्महत्या नै गरेको देखाउनु कथाको दुर्वल वा कमजोरी पक्ष हो ।
निष्कर्षः
मूलतः कविका रुपमा आफ्नो परिचय स्थापित गरिसकेका अनिल श्रेष्ठ कथाकारका रूपमा पनि सशक्त र सिद्धहस्त रहेका छन् । श्रेष्ठको साहित्य यात्राको प्रारम्भ नै कथाबाट भएको हो । उनका थुप्रै कथा र लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित भएका छन् । ‘प्रजातन्त्र र पागल’ उनका सशक्त कथाहरूको एक सङ्ग्रह बनेको छ । यस कथा सङ्ग्रहभित्रका कथाहरूले उनलाई एकजना सशक्त कथाकारका रुपमा पाठकसामु उभ्याइ दिएको छ ।
‘एउटा जीवनको अन्त्य’ कथा ‘प्रजातन्त्र र पागल’ कथा सङ्ग्रहभित्रको छैटौँ सङ्गृहीत कथा हो । यो कथामार्फत उनले पञ्चायती यवस्था, बहुदलीय व्यवस्था र वर्तमानमा विद्यमान राज्य व्यवस्थाका विसङ्गति र राज्यप्रति जनतामा उठेका असन्तुष्टिहरूलाई उजागर गरेका छन् । कथामा कथावस्तु सललल बगेको छ । उनका अन्य कथाहरूमा जस्तै यस कथामा पनि भाषाको काव्यात्मक लय रहेको छ । कथा पढिरहेको पाठकलाई एक किसिमको कौतुहलता जाग्दा जाग्दै कथाको अन्त्य भएको पत्तो हुँदैन । कथाले पाठकलाई मुग्ध बनाउँछ ।
(गोरखा)