२३ कार्तिक, काठमाडौं ।
वरिष्ट साहित्यकार भुवनहरि सिग्देलको पैँतिसौँ कृति ‘लालस’ उपन्यास प्रकाशित भएको छ ।
साहित्यिक र राजनीतिक तथा विश्लेषणात्मक पुस्तकहरू प्रकाशनमा अग्रणी संस्था शिखा बुक्सले सो उपन्यास बजारमा ल्याएको हो ।
विविध विधामा कलम चलाउने स्रष्टा भुवनहरि सिग्देलको यो पैँतिसौँ कृति हो भने आख्यानका हिसाबले नवौँ हो । आइतबार एक समारोहबीच समालोचक राजकुमार बानियाँ, उपन्यासकारद्वय शैलेन्द्र अधिकारी र तर्कना शर्मा, प्रकाशक श्रीमती शोभा पौडेल, डिजाइनर सन्तोष दाहाल र लेखक भुवनहरि सिग्देलले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।
बहुमुखी अनुभवका अन्तर्मुखी उच्छालमा तरङ्गित आख्यानको गण्डकीजस्तो लाग्ने ! धन, दम्भ, अहङ्कार र द्वेषबाट जन्मिएका अद्भुत पात्र र तिनैले बनाएका कथाको माखेसाङ्लो ! घृणा, धोका, प्रपञ्चका घटना र परिघटनाको महाजाल अनि त्यही त्रिवेणीमा घुमेको भुमरी ! पारदर्शी र अपारदर्शी नूतन जीवनबोधको अनुष्ठान ! यथार्थमा कल्पनाको अर्क मार्जनजस्तो ! विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान हो, ‘लालस’ !
‘लालस’ उपन्यासमा संवेदनशील भावुकता, लालित्यपूर्ण भाषाशैली र करुणामय बोध छ । उपन्यास सबैखालका पाठकको मन जित्न सफल हुने कुरामा ढुक्क रहेको प्रकाशक पुष्पराज पौडेलले बताउनुभयो ।
शिखा बुक्सबाट प्रकाशित उक्त उपन्यासको मूल्य ४२५ रहेको छ । ‘लालस’ आजबाट नै बजारमा उपलब्ध रहेको प्रकाशकले बताएका छन् ।