हो,
म चुरोटको धुवाँमा
हेरिरहेछु मान्छेको आकार
जलिरहेछन् मान्छेका कोषहरू
किन खुसी हुन्छन् मान्छेहरू
आफूलाई जलाएर ।
र,
म देखिरहेछु एउटा चित्र
उज्यालो छर्ने निहु पारेर
खरानी बनिरहेछ दियोको सलेदोझैँ
आफू दुखेर हाँसिरहेछ
संसार जितेको अभिनय गरेर
सल्काइरहेछ हजारौँ दियोहरू ।
अनि,
प्रार्थनाको गुन्जायसमा
सुगन्ध छर्दै डढिरहेको धुप
हेर्दाहेर्दै धुवाँ र खाग बनिरहेछ ।
तसर्थ,
समय र नियतिले
भोगाइरहेछ आ–आफ्नै जीवन
चुरोट, सलेदो र धुपजस्तै ।
(ताप्लेजुङ)